बाग्मती

कर्मचारी समायोजन गर्दा पुरानो नयाँबीच कुनै विभेद गरिएको छैन– मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकले ‘प्रदेशमा सार्वजनिक लिखत प्रमाणीकरण ऐन–२०७४’ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव बैठकमा टेबुल गरेका छन् । उक्त विधेयक केही दिनअघि प्रदेशसभाको विभिन्न समितिबाट दफावार छलफल भई प्रदेशसभाको बैठकमा प्रतिवेदनसहित प्रस्तुत गरिएको थियो ।

प्रदेशसभाको सदस्य सीता लामाले उक्त विधेयकमाथि छुट्टै संशोधनको प्रस्ताव राख्नु भएकामा सो प्रस्ताव उनले फिर्ता लिएका थिए उक्त विधेयक सर्वसम्मतिबाट पारित गर्न सहयोग पुगेको थियो । बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी सडकलाई फराकिलो गर्ने तथा ढलको निकास र कालोपत्र गर्ने कार्यलाई सरकारले तीव्रता दिएको बताउँदै बर्सातको समयमा पनि अब हेटौँडा–कुलेखानी–काठमाडौँको यातायात सेवा सञ्चालन हुने जानकारी दिए।

प्रदेशसभाको गत चैत १७ र १८ गतेको बैठकको विशेष समयमा सदस्यहरुले उठाएका प्रश्नको जवाफदिदैं मुख्यमन्त्री पौडेलले हेटौँडा काठमाडौँ जोड्ने सुरुङ मार्गलाई प्रदेश सरकारको मातहतमा ल्याउन अहिले केही प्राविधिक समस्या आएकाले तत्काल त्यसको निर्माण कार्य गर्न सम्भव नरहेको बताए ।

उनले सङ्घीय सरकार र नेपाल पूर्वाधार विकास कम्पनीसँग कुराकानी भइरहेकाले आगमी चालू आवको प्रथम चौमासिक भित्रै सुरुङ मार्ग प्रदेश सरकारको मातहतमा ल्याइएपछि त्यसको निर्माण कार्यलाई तीव्र गति दिइने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री पौडेलले प्रदेशमा कर्मचारी समायोजन गर्दा पुरानो नयाँबीच कुनै विभेद नगरिएको उल्लेख गर्दै नयाँ आउने कर्मचारीलाई पनि मर्यादित किसिमले जिम्मेवारीकासाथ कार्यक्षेत्रमा पठाइने जानकारी दिए ।

त्यस्तै, बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सूचनाको हकको व्यवस्था गर्न बनेको विधेयक २०७५, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले व्यवसाय सञ्चालन गर्न बनेको विधेयक २०७५, कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री दावा दोर्जे लामाले कृषि व्यवसाय सञ्चालन गर्न बनेको विधेयक २०७५ एंव बीउबिजनको व्यवस्था गर्न बनेको विधेयक २०७५ तथा सामाजिक विकासमन्त्री युवराज दुलालले बालबालिकाको अधिकार संरक्षण गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका प्रदेशसभाका सम्बन्धीत समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले स्वीकृति प्रदान गरेको छ ।

प्रदेशसभाको अर्को अर्को बैठक चैत २६ गते मङ्गलबार दिनको १ बजे बस्ने छ ।