स्वास्थ्य

खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई स्वास्थ्यमन्त्री यादवको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गरेका छन् । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उनले भने, “सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पु¥याउनुहोस् यसपछि तपाईलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ । ”

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजानिक गरेका विभिन्न प्रतिवेदन आज यहाँ सार्वजानिकपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार पूरा गर्न मन्त्रालय प्रतिबद्ध छ भने ।

प्रदेश र स्थानीय तहमा समायोजन भएपछि सङ्घमा आउन ढोका बन्द हुने र सरकारी चिकित्सक सङ्घ (गोदान) सित स्वास्थ्य मन्त्रालयले गरेका सहमति विपरीत समायोजन भएको भन्दै सरकारी चिकित्सक सङ्घमा आवद्ध चिकित्सकले सरकारी अस्पतालमा आकस्मिक बाहेकका आफ्नो सेवा तीन दिनदेखि अवरोध गरिराखेका छन् । कार्यक्रममा उपप्रधानमन्त्री यादवले अनुसन्धानमा आधारित नीति बनाउन मन्त्रालयले ध्यान दिएको चर्चा गर्दै नसर्ने रोग नियन्त्रणमा ध्यान दिन निर्देशन दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नतिजामुखी कामका लागि बजेट अभाव हुन नदिने जानकारी दिँदै समग्र स्वास्थ्य सुधारमा सरकारको लगानी बढाउनुपर्छ भने । परिषद्का कार्यकारी निर्देशक प्रा .डा. अञ्जनीकुमार झाले मन्त्रालयको आग्रहमा परिषद्ले दश वटा अनुसन्धान सम्पन्न गरेको जानकारी दिए । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले स्वास्थ्यका अनुसन्धानलाई प्रभावकारी बनाउन एकद्वार नीतिको आवश्यकता रहेको बताए।