लुम्बिनी

परासीमा सडक सञ्जाल विस्तार

नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारसहित यस आसपासको क्षेत्रमा अहिले सुविधायुक्त सडक सञ्जाल विस्तार गर्ने काम अघि बढाइएको छ । विशेषगरी रामग्राम नगरपालिका – क्षेत्रभित्र पर्ने सडकको स्तरोन्नति लगायतका भौतिक संरचना निमार्णका काम जारी रहेको छ ।

अहिले सदरमुकाम परासीको मुख्य बजार बुद्धचोकदेखि निलोगेटसम्म र झरहीदेखि मन्झरिया चोकसम्म चार लेन तथा महेशपुर चोकदेखि बाइसपास चोकसम्म र पोरापालीदेखि शिवालय चोकसम्म सडक विस्तारको काम चलिरहेको छ ।

सघन शहरी विकास कार्यक्रम अन्तर्गत रु १४ करोड सात लाखको लागतमा बुद्धचोकदेखि निलोगेटसम्म, रु आठ करोडको लागतमा हाटबजार व्यवस्थापन र रु ३५ करोडको लागतमा मन्झरिया चोकदेखि पोखरापाली हुँदै बुद्धचोक, बुद्धचोकदेखि भरही खोला, महेशपुर चोकदेखि बाइपास पेट्रोलपम्प र पोखरापालीदेखि शिवालय मन्दिरसम्म सडक विस्तार गर्ने कार्य जारी रहेको छ ।

यी सबै सडक विस्तारमा शुरु अवस्थादेखि अन्तिम चरणसम्म आइपुग्दा करीब रु दुई अर्ब बढी रकम खर्च हुने लक्ष्य लिइएको नगरपालिकाका प्रविधिक इञ्जिनीयर सतिशकुमार गुप्ताले बताए । जनप्रतिनिधि चयन भएको करीब दुईवर्ष पुग्न लाग्दा नगरपालिकाभित्रको सबै बाटोलाई आगामी तीन वर्षभित्र पूर्णरुपमा व्यवस्थित कालोपत्र बनाइने योजना रामग्राम नगरपालिकाले अघि सारेको छ । सडक सञ्जाललाई नगरका सबै १८ वटै वडामा विस्तार गर्ने लक्ष्यसाथ नगरपालिकाले कामअघि बढाइरहेको नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताउनुभयो ।

नगरपालिकाले नगरभित्रका सबै जनतालाई विकासको अनुभूति गराउन सानो सानो विकास निमार्णको कामसँगै ठूला–ठुला आयोजना समेत सञ्चालन हुने अवस्थामा रहेको छ । शहर केन्द्रित मात्र होइन विकट गाउँ÷गाउं केन्द्रीय सडक, पुल, नाला लगायतका काममा पनि नगरपालीकाले विकासका काम अघि बढाएको छ ।

यसै क्रममा शहरी शासन तथा एकीकृत पूर्वाधार विकास कार्यक्रम अन्तर्गत तीन वटा सडक विस्तार आयोजनाको सम्भाव्यता अध्ययन पूरा भएकोले त्यसको कार्यान्वयन अघि बढाइएको छ । परासी मुख्य केन्द्रविन्दु बनाइ यहाँबाट निस्केको तीनवटा मुख्य ग्रामीण बाटोको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेकाले करीब रु दुई अर्ब ८४ करोडको लागतमा सडक स्तरवृद्धिसहित कालोपत्र गरीने योजना रहेको नगरपालिकाले जनाएको छ ।

परासीदेखि डिघवल, बञ्जरीया हुँदै पण्डितपुरसम्म, परासीदेखि पोखरापाली, अहिचावल र परसहवासम्म र परासीदेखि पाल्हीक्याम्पस हुँदै करमैनीसम्मको बाटोलाई कालोपत्रसहित सडक स्तरोन्नति गरीने योजना छ । कच्ची बाटो तथा ग्राभेल बाटोको कारणले गर्दा धुलो उड्ने र वर्षातको मौसममा हिलाम्य हुने भएकोले यी बाटोलाई प्राथमिकतामा राख्दै कालोपत्र गरी बाटोको स्तरोन्नति गरिने योजना रहेको नगरपालिकाले जनाएको छ ।