बाग्मती

डाँडाकटेरीमा शहीदका सालिक बन्दै

रामेछाप । दोरम्बा गाउँपालिकाको डाँडाकटेरीमा सशस्त्र जनयुद्धमा शहीद भएका २१ शहीदको अर्धकदको सालिक निर्माण गरिने भएको छ । विसं २०६० साउन ३२ गते दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जामा लिएर सेनाले तत्कालीन माओवादी रामेछापका जिल्ला प्रमुख बाबुराम तामाङसहित २१ को सामूहिक हत्या गरेको थियो ।

डाँडाकटेरीलाई युद्ध पर्यटकीय क्षेत्रका रुपमा चिनाउन गाउँपालिकाले पनि कार्यक्रम अगाडि बढाएको अध्यक्ष कमानसिं मोक्तानको भनाइ छ । सांसद श्यामकुमार श्रेष्ठले डाँडाकटेरीको विकासका लागि आफू लागिपरेको उल्लेख गर्दै घटनास्थलमा समाधिस्थल निर्माण गर्न बजेट उपलब्ध गराउन पनि भूमिका निर्वाह गरेको बताए।

दोरम्बा हत्याकाण्ड भएको स्थान डाडाँकटेरीको विकास गर्नका लागि शहीद स्मृति प्रतिष्ठान नै दर्ता गरेर काम अगाडि बढाइएको छ । प्रदेश नं ३ सरकारले अर्धकदको सालिक निर्माण गर्न रु २० लाख बजेट उपलब्ध गराएको दोरम्बा शहीद प्रतिष्ठनका अध्यक्ष धनबहादुर तामाङले जानकारी दिए ।

सालिक निर्माणको काम प्रतिष्ठानमार्फत गरिने पनि उनले जानकारी दिए । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको पहलमा सालिक निर्माण गर्न बजेट विनियोजन भएको हो । गाउँपालिकाले पनि हत्याकाण्ड भएको स्थानको विकासका लागि काम अगाडि बढाएको छ । यसअघि डाँडाकटेरीमा शहीद स्मृति समाधिस्थल निर्माण भइसकेको छ । करीब दुई रोपनी जग्गामा निर्माण गरिएको समाधिस्थलको पर्खाल लगाउने र प्रवेशद्वार निर्माण गर्ने काम सम्पन्न भएको छ । गाउँपालिकाले समाधिस्थलमा आठ लाख लगानीमा ट्रष्ट निर्माण गर्न लागिएको छ ।

त्यसैगरी गाउँपालिकाले डिपिआरका लागि दुई लाख छुट्याएको वडा नं २ का अध्यक्ष खड्गबहादुर श्रेष्ठले जानकारी दिए। सो हत्याकाण्ड भएको १५ वर्षपछि डाँडाकटेरीमा शहीदका अर्धकदको सालिक निर्माण हुन लागेको हो । चौबिस इञ्च अर्धकदको सालिक राखिने अध्यक्ष तामाङले बताए । उनका अनुसार आगामी साउन ३२ गते स्मृति दिवसका अवसरमा उद्घाटन गर्ने कार्यक्रम छ ।

गाउँपालिकाका प्रवक्ता अम्बिकाप्रसाद गजुरेलले डाँडाकटेरीको विकासका लागि आफूहरु लागिपरेको बताए । गत वर्ष दोरम्बामा भएको कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोरम्बाको डाँडाकटेरीलाई युद्ध पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। उक्त हत्याकाण्डको स्मरणमा हरेक वर्ष श्रद्धाञ्जलिसभाको आयोजना गरिँदै आएको छ ।