सुदूरपश्चिम

पर्यटन विकासका लागि तीन वटा ‘फिल्ड’ कार्यालय स्थापना

अत्तरिया । सुदूरपश्चिम प्रदेशमा पर्यटनका तीन वटा ‘फिल्ड’ कार्यालय स्थापना गर्ने तयारी अघि बढाइएको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बैतडी, दार्चुला र डडेल्धुरालाई केन्द्रित गरी बैतडीमा डोटी, अछाम, बझाङ र बाजुरालाई केन्द्रीत गरी डोटीमा तथा कैलाली र कञ्चनपुरलाई केन्द्रीत गरेर कैलालीमा पर्यटन विकास फिल्ड कार्यालय राख्ने तयारी अघि बढाइएको हो ।

प्रदेश मातहतका संरचना नभएकाले बजेट कार्यान्वयनमा कठिनाई भएको भन्दै मन्त्रालयले नयाँ संरचना निर्माण गरी बजेट कार्यान्वयनमा सहजता ल्याउन फिल्ड कार्यालय स्थापना गर्ने तयारी अघि बढाएको जनाएको छ । प्रदेशको पर्यटन मन्त्रालयले चालू आर्थिक वर्षका लागि चार सय बढी पर्यटनका योजनामा बजेट विनियोजन गरेको छ ।

ती योजना कार्यान्वयनका लागि मन्त्रालयले योजना प्रत्येक एकाइमा दुई सव–इञ्जिनीयर रहने गरी छ जना सव इञ्जीनीयर र दुई जना सिभिल इञ्जीनीयरको दरबन्दी कायम गरी करारमा नियुक्त समेत गरिसकेको जनाएको छ । मन्त्रालयका योजना अधिकृत भोजराज पाठकका अनुसार मन्त्रालयले पर्यटन शीर्षकमा विनियोजन गरेको बजेट कार्यान्वयन गर्न आवश्यक तयारी भइसकेको छ ।

मन्त्रिपरिषद्को गत पुस २६ गतेको बैठकले प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन कार्यवधि अनुमोदन गरेकोे थियो । मन्त्रालयले चालू आर्थिक वर्षका लागि पर्यटन शीर्षकमा रु २३ करोड ८२ लाख र सङ्घीय सरकारको रु चार करोड ५१ लाख सशर्त अनुदान समेत गरी रु २८ करोड ३३ लाख विनियोजन गरेको छ