गण्डकी प्रदेश

समाजसेवी मगरद्वारा विपन्न परिवारलाई आर्थिक सहयोग

पोखरा । समाजसेवी चन्द्र मगरको पहलमा दुई अपाङ्गता भएका छोरालाई लालनपालन गर्दै आएका देवुकुमारी नेपालीलाई आज आर्थिक सहयोग गरिएको छ । पोखरा–१३ को विजयपुर डिही गाउँका नेपालीलाई तनहुँ शुक्लागण्डकी नगरपालिका–५ को बेलचौतारा बस्ने चन्द्र मगरले सङ्कलित रु ७७ हजार ५४० प्रदान गरेका छन् ।

सहयोग रकममध्ये बेलायत निवासी दिपीन राईबाट रु २५ हजार, तुल थापामगरबाट रु १० हजार, रेखा थापामगरबाट रु १० हजार र नारायण आलेमगरबाट रु १५ हजार, हङ्कङ निवासी विपीन थापामगरबाट रु पाँच हजार ५००, बरुनाइ निवासी भक्त मगरबाट रु पाँच हजार, दक्षिण कोरिया निवासी चन्द्र दर्लामीमगरबाट रु पाँच हजार, तनहुँ, बेलचौतारा निवासी खिमाया थापामगरबाट रु एक हजार २० र रञ्जु रानामगरबाट रु एक हजार २० रहेको समाजसेवी मगरले जानकारी गराए । छिमेकीका बाख्रा चराएर गुजार गर्दै आएका नेपालीले ३४ वर्षीय शिव र ३२ वर्षीय चेतबहादुरको लालनपालन गर्दै आइरहनुभएको छ ।