प्रदेश 1

वर्षौँदेखि अलपत्र रहेको जामुने सिमसार क्षेत्रको संरक्षणमा स्थानीयवासी जुटे

दमक । यहाँस्थित दमक–३ मा वर्षौँदेखि अलपत्र रहेको जामुने सिमसार क्षेत्रको संरक्षणमा स्थानीयवासी जुटेका छन् । स्थानीयवासीले सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न उपभोक्ता समिति गठन गरी काममा जुटेका हुन् ।

प्रदेश सरकार, स्थानीय सरकारसहित राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई समेत त्यस क्षेत्रमा जोडेर काम थाल्ने तयारी अगाडि बढाइएको वडाध्यक्ष नवीन बरालले बताए । उनका अनुसार नगरपालिका र हम्सेदुम्से सामुदायिक वनले समेत यसका लागि बजेट विनियोजन गरेको अवस्थामा यसै वर्षदेखि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न प्रारिम्भक चरणका काम थालनी हुनेछ ।

वडाध्यक्ष बरालले पोखरी तयार पारेर यस वर्षभित्रमा त्यहाँ आर्कषक फूलबारीको विकास गरिने योजना रहेको बताए । त्यस्तै, चालू आवमा ती काम सम्पन्न गर्ने र आगामी वर्षमा भने यसलाई गुरुयोजनाका साथ काम अगाडि बनाउने जानकारी उनले दिए । सिमसार क्षेत्रमा पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यका साथ करीब तीन हेक्टर जमीनमा यो वर्ष पोखरी विस्तार गर्ने योजना रहेको वडाध्यक्ष बरालले बताए ।

नगरपालिकाका रोमनाथ ओलीले नगरपालिकाले दमक नगरभित्र रहेका सिमसार तथा पर्यटकीय क्षेत्रको पहिचान गर्नका लागि नगरस्तरीय समिति नै निर्माण गरेर काम शुरु गरेको बताए । त्यसको प्रतिवेदनका आधारमा पर्यटकीय गुरुयोजना बनाएर त्यस्ता क्षेत्रको विकास गरिने नगरप्रमुख ओली बताउँछन् । उनले भने, “स्थानीय सरकारसहित प्रदेश सरकारसमेतले यो वर्ष बजेट छुट्याएकाले यस्ता लोप हुनलागेको सिमसारलाई संरक्षण गर्न सहयोग पुग्नेछ ।”

यसैबीच, जामुने सिमसारको संरक्षण र प्रवद्र्धनका लागि स्थानीयवासीले नारायणप्रसाद बरालको अध्यक्षतामा एक उपभोक्ता समितिसमेत गठन गरेका छन् । गठित समितिको सचिवमा गेहनाथ पोखरेल, कोषाध्यक्षमा गायत्री बस्नेत र सदस्यमा पुरण अधिकारी, गुणराज घिमिरे, गणेश श्रेष्ठ र दलबहादुर सुब्बा रहेका छन् ।