प्रदेश 1

दिक्तेल जिल्ला अस्पतालमा निःशुल्क आँखा शल्यक्रिया शिविर

खोटाङ । दिक्तेलस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२९ को उपचार गरिएको छ । नेत्रज्योति सङ्घ खोटाङको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा चैत २२, २३ र २४ गते तीनदिने शिविर सञ्चालन गरिएको हो ।

शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा. अभिषेक सहदेवको नेतृत्वमा आएको १४ स्वास्थ्यकर्मीको टोलीले ९५ को शल्यक्रिया गरेको सङ्घका सभापति इन्द्र कसजुले जानकारी दिए । शल्यक्रिया गराउने अधिकांश आँखारोगी वृद्धवृद्धा रहेको जनाइएको छ ।

शिविरमा आएका ज्येष्ठ नागरिक र शल्यक्रिया गराएका आँखाका बिरामीलाई निःशुल्क दृष्टि चश्मा वितरण गरिएको थियो । उपचारमा आएका अधिकांशलाई औषधिसमेत निःशुल्क वितरण गरिएको जनाइएको छ । शिविरमा आएका जटिल किसिमका बिरामीलाई खान र बस्नको व्यवस्थासमेत आयोजकले मिलाएको थियो । लामो समयदेखि उपचार अभावमा दृष्टि गुमाएर बसेका आँखाका रोगीले पुनःदृष्टि पाएपछि हर्षित भएका छन् ।

अरुको सहारामा शिविर सञ्चालन भएको स्थानमा पुगेर उपचार गराएका अधिकांश आँखाका बिरामी शल्यक्रियापछि आफैँ हिँडेर घर फर्किएका छन् ।उनीहरुले लामो समयदेखि आफ्नो गुमेको दृष्टि पुनः फर्काइदिएकामा आयोजक तथा शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद दिएका छन् ।

स्ट्रेचरमा बोकाएर शिविर पु¥याइएकी खाल्लेकी ७६ वर्षीया जानुका सुजीकार शल्यक्रियापछि आफैँ हिँडेर घर फर्किएकी छोरा प्रकाशले बताए । “आमाको आँखामा विसं २०६६ देखि समस्या देखिएको थियो”, उनले भने, “पछिल्लो चार महीना त दुवै आँखा पूरै बन्द भएको थियो । अहिले शल्यक्रिया गरेपछि दुवै आँखाले राम्ररी देख्न सक्छिन् । उनी आफै हिँडेर घर फर्किइन् ।”

सङ्घले यसअघि यही चैत १९ र २० गते केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा पनि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरेको थियो । बाक्सिलामा आयोजना गरिएको शिविरमा ६३ को शल्यक्रियासहित ५१४ को उपचार गरिएको थियो । जिल्लामा लामो समयदेखि क्रियाशील नेत्रज्योति सङ्घले यही चैत २६ र २७ गते हलेसीमा पनि निःशुल्क आँखा शल्यक्रिया शिविरको आयोजना गर्नेभएको छ । जिल्लाका हरेक भेगका नागरिकलाई आफ्नै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले यस वर्ष जिल्लाको तीन ठाउँमा शिविर राखिएको सभापति कसजुले बताए।