अन्तर्राष्ट्रिय

चिनियाँ प्रधानमन्त्री ली आज ब्रसेल्स जाँदै

बेइजिङ । चीनका प्रधानमन्त्री ली खछ्याङ ब्रसेल्समा आयोजना हुने २१औं चीन–युरोपेली संघका नेताहरूको भेट–वार्तामा सहभागी हुन आज बेल्जियम प्रस्थान गर्ने भएका छन् ।

युरोपेली संघका लागि चिनियाँ कूटनैतिक मण्डलका प्रमुख चाङ मिङले चिनियाँ सञ्चारमाध्यमहरूसँगको आइतबार भएको कुराकानीमा चीन र युरोपबीचको सम्बन्धमा अहिलेसम्म चार वटा विशेष विषयहरू देखिने बताउँदै यस पटकको भेट–वार्तामार्फत यी दुई पक्षीय रणनैतिक साझेदारी सम्बन्धलाई अरू बढी बलियो बनाइने र विभिन्न क्षेत्रको सहकार्यलाई नयाँ प्रगतितर्फ प्रवद्र्धन गर्नसकिने कुरा व्यक्त गरेका छन् ।

चीन–युरोपेली संघको नेतास्तरीय भेट–वार्ता दुई पक्षीय राजनीतिक तथा कूटनीतिक अनुभवको आदान–प्रदान गर्ने उच्चस्तरीय अवसर हुने चीनले बताएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङको गत वर्षको अन्त्यतिरको भ्रमण र यस वर्षको पहिलो भ्रमणका लागि यूरोपको छनोट निश्चित भएको हो ।

गएको १५ वर्षदखि युरोपेली संघ (इयू) चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा आयात गर्ने गन्तव्य पनि हो । गएको १४ वर्षदेखि इयूका लागि ठूलो व्यापारिक मुलुकमा चीन दोस्रो स्थानमा पर्दछ भने आयात गर्ने सबैभन्दा बढी मुलुकहरूमध्ये चीन पनि भएको देखिन्छ । सन् २०१८ मा चीन र युरोपबीचको व्यापारिक मात्रा ६ खर्ब ८२ अर्ब अमेरिकी डलर पुगेको थियो जुन रकम इतिहासमै सबैभन्दा बढी थियो ।

चीनले प्रस्तुत गरेको वैदेशिक लगानी कानूनले चीन र युरोपबीचको सहकार्यलाई अरू बढी राम्रो मौकाहरू सिर्जना गर्नसकिने कुरा पनि प्रमुख चाङ मिङले व्यक्त गरे ।