खेलकुद

दोस्रो मेयर गोल्डकप: खाँदबारी, पाँचखपन र मादी विजयी

सङ्खुवासभा । चैनपुरमा जारी प्रदेश नं १ स्तरीय दोस्रो मेयर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको आ–आफ्नो खेलमा खाँदबारी, पाँचखपन र मादी नगरपालिका विजयी भएका छन् ।

चैनपुरस्थित रङ्गशालामा भएको खेलमा खाँदबारी नगरपालिकाले धनकुटा नगरपालिकालाई १–० गोलले पराजित ग¥यो । अर्को खेलमा सङ्खुवासभाको पाँचखपन नगरपालिकाले भोजपुर नगरपालिकालाई ६–० गोलले हरायो । आजै भएको तेस्रो खेलमा सङ्खुवासभाको मादी नगरपालिकाले झापाको शिवसतासी नगरपालिकालाई १–० गोलले पराजित ग¥यो ।

यसअघि ‘खेलकूद मार्फत पर्यटन, पहिचान, प्रगति र गरीमा समृद्धि र एकताका लागि फुटबल चैनपुर नगरीमा” मूल नाराका साथ उक्त प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद गौतमले गरेका थिए । प्रतियोगितामा सङ्खुवासभाका पाँच नगरपालिकासहित प्रदेश नं १ का नौ जिल्लाका १३ नगरपालिकाको सहभागिता छ । प्रतियोगिता यही चैत ३० गतेसम्म चल्नेछ ।

प्रथम हुनेलाई रु पाँच लाख ५५ हजार ५५५, द्वितीय हुनेलाई रु तीन लाख ३३ हजार ३३३, तृतीय तथा चौथो हुने टोलीलाई रु एक लाख ११ हजार १११ सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई रु १५ हजार, उत्कृष्ट गोलरक्षकलाई रु १० हजार र प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित खेलाडीलाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रथम मेयर गोल्डकप प्रतियोगिता खाँदबारी नगरपालिकाले जितेको थियो ।