आर्थिक

अर्थ मन्त्रालय–मातहतका निकाय इमान्दारीका साथ लागे लक्ष्य हासिल गर्न सकिन्छ: मन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आर्थिक वर्षको बजेटले निर्धारण गरेका लक्ष्य हासिल गर्नेतर्फ अर्थ मन्त्रालय र मातहतका निकाय इमान्दारीका साथ लाग्नुपर्ने बताएका छन् ।

अर्थ मन्त्रालयमा आइतबार भएको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले बजेट कार्यान्वयनलाई केन्द्रमा राखेर काम गर्न सम्बद्ध सबैलाई निर्देशन दिए ।

अर्थ मन्त्रालयसँग सम्बन्धित ऐन कानून, संशोधन गर्नुपर्ने बाँकी कानूनको शीघ्र तर्जुमा गर्ने, राजस्व परिचालनमा बिलिङ कार्यान्वयन र बजार अनुगमनलाई नियमित गर्ने, नेपाल सरकारको नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयन कार्ययोजना बमोजिमका कार्यको समयमा कार्यान्वयन गर्न जिम्मेवार भई कार्यसम्पादन गर्न मन्त्री खतिवडाले आग्रह गरे ।

“अन्तर प्रदेश परिषद एवं अन्तर सरकारी वित्त परिषद्को निर्णय कार्यान्वयन गर्न र आगामी आर्थिक वर्षको बजेट तर्जुमामा वित्तीय सङ्घीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गरौँ”, उनले भने । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेलले चालू आर्थिक वर्षको बाँकी अवधिमा लक्ष्य अनुरुप कार्य सम्पादन गर्न जोड दिँदै अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगका बीचमा आगामी बजेट तर्जुमामा प्रभावकारी सहकार्य हुनुपर्ने बताए ।

अर्थ मन्त्रालयले बितेको एक वर्षमा कानून निर्माण, वित्तीय सङ्घीयता कार्यान्वयन, वित्तीय क्षेत्र व्यवस्थापन र राजस्व प्रशासनमा भएका सुधार, समग्र बजेट खर्च स्थिति, अर्थ मन्त्रालयको खर्च स्थिति, वार्षिक लक्ष्य र प्रगति विवरण, आयोजना र कार्यक्रम कार्यान्वयनबारे छलफल भएको थियो ।