समाचार

दुःख लाग्छ, काँग्रेसमा अझै पनि हामीलाई केटाकेटी भनिन्छः प्रदीप पौडेल

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले वर्तमान परिप्रेक्ष्यमा राजनीतिमा युवाको प्रभाव पर्ने क्रम बढ्दो क्रममा रहेको बताएका छन् । उनले लोकतान्त्रिक विधिबाट राजनीतिमा युवाको नेतृत्व हुन सकस भएपनि पछिल्लो समय त्यो प्रभाव बढेको उल्लेख गरे ।

देउमाई नगरपालिकास्थित ‘देउमाई साहित्य तथा पर्यटन महोत्सव’मा राजनीतिमा युवा पुस्ताबारे बहस गर्दै नेता भट्टराईले आफू उमेरका हिसाबले नभइ पुस्ताका हिसाबले युवा रहेको बताए । उनले पार्टीमा अहिले २००७ सालको पुस्ताको सहभागिता तथा नेतृत्व नगन्य रूपमा रहेको तर २०४६ सालको आन्दोलनबाट जन्मिएका नेताको सहभागिता बढी रहेको बताए ।

नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा अझै पनि युवा पुस्ताको नेतृत्व आउन नसकेकामा दुःख व्यक्त गरे । “पार्टीमा अझै पनि हामीलाई केटाकेटी भनिन्छ”, उनले थपे, “युवाले पनि नेतृत्व गर्न सक्छन् भन्ने धारणा विकाश हुनुपर्छ ।” पौडेलले युवा नेतृत्वमा आउनका लागि प्रतिष्पर्धामा आउन सक्नुपर्ने बताए । यसबाट आफूलाई दुःख लागेको धारणा राखे ।

सो कार्यक्रमको बहस पत्रकार वसन्त बस्नेतले गराएका थिए । महोत्सवअन्तर्र्गत आइतबार महिला बहस कार्यक्रममा साहित्यकार सीमा आवास र कुन्ता शर्मासँग समेत बहस गरिएको थियो । बहसमा दुवैले महिला विभिन्न हिसाबले अहिले पनि पुरुषको तुलनामा पछाडि नै रहेको बताएका थिए ।