राजनीति

अन्तरघातीको नाम केन्द्रमा पेश गर्न काँग्रेसको ७७ जिल्लालाई निर्देशन, कडा कारबाही गर्ने दियो संकेत

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी हितविपरीत गर्नेको नाम सात दिनभित्र समितिलाई उपलब्ध गराउन सबै जिल्ला कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक भीष्मराज आङ्दम्बेको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालयमा आज भएको बैठकले त्यस्तो निर्णय गरेको हो । गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै नेपाली काङ्ग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका व्यक्तिको नामावली सबै जिल्लाबाट सात दिनभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय आजको बैठकले गरेको समितिका सचिव प्रेम केसीले बताए ।
उक्त पत्राचारपछि काँग्रेस भएर काँग्रेसलाई नै हराउन खोज्ने अन्तरघातीलाई अनुशासन आयोगले साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने संकेत देखिएको छ ।