समाचार

सडक मर्मत माग गर्दै पृथ्वीराजमार्ग अवरुद्ध

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दुलेगौँडा–कोत्रे सडकखण्ड मर्मत गर्नुपर्ने माग गर्दै स्थानीयवासीले आज राजमार्ग अवरुद्ध गरेका छन् । शुक्लागण्डकी नगरपालिका–२ हलेदीस्थित राजमार्ग भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै स्थानीयवासीले बिहान ९ः३० बजेदेखि राजमार्गमा ढुङ्गा तेस्र्याएर अवरुद्ध गरेका हुन् ।

सम्बन्धित निकायको बेवास्ताको कारण सडक मर्मतमा ढिलाइ भएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासी हरिलाल रिमालले बताए । उनले भने, “स्थानीय सरकारदेखि प्रदेश सरकारलाई समेत यस बारेमा पटक पटक ध्यानाकर्षण गरायौँ तर हामी्हरुको मागलाई बेवास्ता गरियो । बाध्य भएर राजमार्ग अवरुद्ध गरेका हौंँ ।” उनका अनुसार घाम लाग्दा धुलो र पानी पर्दा हिलोले यहाँका बासिन्दालाई समस्या पर्दै आएको छ ।

राजमार्ग अवरुद्ध भएपछि दमौली हुँदै पोखरा र पोखरा हुँदै दमौलीतर्फ आउने सयौँ सवारी साधन रोकिएका छन् । राजमार्ग बन्द हुँदा यात्रु मर्कामा परेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यस ठाउँको सडकको दुर्दशाका विषयमा प्रदेशसभा सदस्य आशा कोइरालाले केही समय अगाडि प्रदेशसभामार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।