राजनीति

दैलेखमा असिनाले ठूलो क्षति, सांसदद्वारा राहत माग

काठमाडौंँ । प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले यही चैत २२ गते साँझपख दैलेखको इतिहासमै पहिलो पल्ट भएको ठानिएको हुरीबतास र असिना वर्षाले जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकाका प्रभावित परिवारका लागि राहतको व्यवस्था गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तीनै तहका सरकारसमक्ष आग्रह गरेका छन् ।

कुरा गर्दै सांसद बुढाले आफूले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसंँग भेटी क्षतिको अनुमानित विवरण पेश गरेको र प्रभावित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन आग्रह गरेको जानकारी दिए ।

उनका अनुसार दुल्लु नगरपालिकाका वडा नं २, ३ र ९ तथा चामुण्डा विन्द्रासैनी नगरपालिकाका १ देखि ९ सम्मका सबै वडामा बालीनाली, बोटबिरुवा र घरका छानामा पूरै क्षति पुगेको छ । यसैगरी असिना र हुरी बतासले ठाँटीकाँध गाउँपालिकाका वडा नं १, २ र ६ मा पूर्ण क्षति भएको छ भने ३, ४ र ५मा आंशिक भौतिक तथा बालीनाली नष्ट भएको बताइएको छ । आठबीस नगरपालिका वडा नं ९ मा पनि हुरी र असिनाले पूर्ण क्षति पु¥याएको छ ।

सांसद बुढाले प्रभावित क्षेत्रका दाजुभाइ दिदीबहिनीलाई यस्तो व्यापक क्षति भएकामा आफू अत्यन्त दुःखी भएको बताउँदै धैर्यधारण गर्न आग्रह गरेका छन्। “यस्तो क्षति र विपत्तिको समयमा सबैको साथ आवश्यक हुन्छ र जनताको दुःखको बेला सरकारको भूमिका झनै महत्वपूर्ण हुन जान्छ”, सांसद बुढाले भने । स्थानीय जानकारलाई उद्धृत गर्दै सांसद बुढाले असिना करीब २ फिटसम्म बाक्लो परेको तथा त्यसको आकार अहिलेसम्म देखिएको असिनाको भन्दा चौबर ठूलो रहेको बताए ।

प्रतिनिधिसभाका सांसद पार्वती विशुंखेले पनि जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् । सांसद बुढाका अनुसार जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा पर्ने गुराँस गाउँपालिकाका १, २ र ३मा पूर्ण र वडा नं ४ मा पनि आंशिक क्षति पुगेको छ ।