अन्तर्राष्ट्रिय

बेलायतद्वारा युरोपेली संघ नलेखेको राहदानी जारी

लन्डन । बेलायतले युरोपेली संघ नलेखेको राहदानी जारी गर्न सुरु गरेको छ । युरोपेली संघबाट बाहिरिने निर्णय गरेको बेलायतले आफ्नो राहदानीको बाहिरको भागमा लेखिएको युरोपेली संघ शब्द हटाएको आन्तरिक मामिला मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

संघबाट बाहिरिने निर्णय बेलायतले पूर्ण रुपमा कार्यान्वयन गराउन नसकिरहेको बेला गत मार्च ३० देखि नयाँ राहदानी जारी गरेको हो । राहदानीमा ‘युरोपियन यूनियन’ लेखेको भएर वा नभएर बेलायती नागरिकलाई यात्रामा कुनै फरक नपर्ने पनि मन्त्रालयले जनाएको छ ।

संसदका विपक्षी दलहरुको विरोधका बाबजूद प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघबाट बाहिरिने निर्णयलाई कार्यान्वयन गराउने प्रयास गरिरहनु भएको छ । बेलायतका अधिकांश सांसदहरुले तीन पटकसम्म ब्रेजिक्टलाई अस्वीकार गरिसकेका छन् ।

सरकारले साझा सहमति तयार गर्ने प्रयास स्वरूप मुख्य विपक्षी दल लेबरसँग वार्ता पनि सुरु गरेको छ । तर वार्ताले ब्रेजिक्टलाई पारित गराउने गरी सहमति जुटाउने सम्भावना भने कम रहेको अधिकारीहरुले बताएका छन् ।