प्रदेश 1

प्रदेशसभा बैठक सम्पन्न

विराटनगर । ‘प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमो पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१) (ख) बमोजिम सो प्रस्ताव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले पेश गरेका थिए ।

‘प्रदेश पर्यटन विकास विधेयक, २०७५’ माथिको सैद्धान्तिक छलफल आज समाप्त भएको छ भने सो सम्बन्धमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले विधेयकमा उठेका प्रश्न र छलफलले विधेयकलाई पूर्णता दिन मद्दत पुगेको विचार व्यक्त गरे ।

शून्य समय

प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले संसद कोषमा विनियोजित रकम खर्च गर्न प्रदेश सरकारले अविलम्ब खर्च गर्न अख्तियारी दिनुपर्ने माग गरे। उनले समयमा बजेट खर्च गर्न अख्तियारी नमिले भ्रष्टाचार मौलाउने, कामको गुणस्तर नहुने भन्दै भ्रष्टाचारलाई नियन्त्रण गर्न सबै सदस्यको सक्रियताको खाँचो औँल्याए ।

सदस्य रामचन्द्र लिम्बूले धनकुटामा रहेको आयुर्वेद अस्पताललाई समयानुकूल सुधार गर्न र सो अस्पताललाई अन्यत्र नसार्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । उनले रक्सी खाने लतमा रहेका मानिसले छुट्कार पाउन अस्पताल जाँदा चिकित्सकले नेपाल सरकारले प्रतिबन्ध लगाएको लारोजेपाम औषधि खुल्ला गर्न र सोका लागि उपचार गर्ने अस्पताल तथा चिकित्सकको इजाजतपत्र धरौटीमा राख्न सुझाव दिए । प्रदेशसभाको अर्को बैठक यही चैत २७ गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।