लुम्बिनी

सिमेन्ट उद्योगका कारण खानेपानीमा ‘लेदो’

लमही । दाङको सोनापुर सिमेन्टका कारण खानेपानीमा लेदो आउने गरेको छ । आकासबाट पानी परेको समयमा उपभोक्ताको धारामा लेदोसहितको पानी जाने गरेको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष प्रदीप गौतमले बताउनुभयो ।

“एक हप्ताअघि पानी पर्दा पनि लेदो आएको थियो, बर्षात्को समयमा लेदो मात्रै जान्छ”, उहाँले भन्नुभयो, “वर्षात्को समय नजिकिँदै गएकाले हामी चिन्तित भएका छौँ ।” अहिले तुलसीपुरको सोनापुर सिमेन्ट उद्योगले पानीको मुहान माथिबाट चुनढुङ्गा उत्खनन गर्ने र त्यहीमाथिको सडक प्रयोग गरेर चुनढुङ्गा ल्याउन तथा लैजान नियमित टिप्परहरु आवत जावत गर्ने भएकाले यस्तो समस्या देखिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

यस विषयमा पटक–पटक सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नगरेको समेत उहाँले गुनासो गर्नुभयो । “केही समयअघि लेदोसहितको पानी बोकेरै सिडिओ कार्यालय पनि पुग्यौँ”, उहाँले भन्नुभयो, “तर कुनै पनि निकायबाट सुनुवाइ भएन ।” त्यहाँको मुहानको पानी प्रशोधनका लागि प्रविधि जडान गरिएको भए पनि धेरै लेदो भरिँदा त्यसबाट पानी बाहिर पोखिने र त्यही लेदोसहितको पानी मुहान हुँदै उपभोक्ताको घर–घरमा पुग्ने गरेकोे अध्यक्ष गौतमको भनाइ छ ।

विसं २०७० मा सरकारको अनुदानमा करीब रु एक करोड लगानीमा निर्माण भएको उक्त प्रविधिले पनि काम नगर्ने भएपछि थप प्रविधि जडान गर्नुपर्ने उहाँले बताउनुभयो । लेदो पस्न नदिन अर्को प्रविधि जडान गर्न यसअघि नै लागत स्टिमेट तयार गरेको समेत उहाँले जानकारी दिनुभयो । “हामीले उक्त प्रविधि जडानका लागि रु ९५ लाख लागत स्टिमेट तयार पारेका छौँ”, उहाँले भन्नुभयो, “तर यसमा सिमेन्ट उद्योग, सडक, खानेपानी, उपमहानगरपालिले कुनै चासो नदेखाएपछि काम अघि बढ्न सकेको छैन ।”

चुनढुङ्गा उत्खननस्थलसम्म सडक ट्र्याक खोल्दा उत्पन्न भएको ढुङ्गा, माटोजन्य पदार्थले लेदो भरिन थालेको भन्दै यसमा सडक, खानेपानी, तथा उपमहानरपालिका पनि जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो । तुलसीपुरको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा अहिले तुलसीपुरका वडा नं १६, १७, १८ र १९ का करीब १७ हजारभन्दा बढी नागरिकलाई पानी खुवाइँदै आएको छ । संस्थाका अध्यक्ष गौतमका अनुसार तीन हजारभन्दा बढी घरमध्ये निजी, सार्वजनिक, संस्थागत गरी एक हजार दुई सयभन्दा बढी धाराबाट पानी वितरण गरिएको छ ।

“सिमेन्ट उद्योगलाई पनि चुनढुङ्गा चाहिन्छ, तर पानीलाई पनि चुनढुङ्गा चाहिन्छ”, उहाँले भन्नुभयो, “विज्ञहरुले पनि माथिको चुनढुङ्गा उत्खननले पानीको मुहान सुक्न सक्ने बताउँदै आएका छन् ।” तीनवटा मुहानबाट पानी आइरहेको उक्त संस्थाका दुईवटा मुहान सुकेमा उपभोक्तालाई कसरी पानी पु¥याउने भन्ने चिन्ता रहेको उनले बताए ।

वडा नं १९ बाँसगढीमा पानी शुद्धीकरणका लागि फिल्टर च्याम्बर ट्याङ्की निर्माण गरिएको भए पनि पहिलेको कार्यसमितिले संरक्षणमा ध्यान नदिँदा यस्तो समस्या देखिएको सचिव विनयकुमार पोखरेलले बताए । “माथिबाट माटो बगेर लेदो आउँछ, त्यही लेदोले फिल्टर जाम हुन्छ”, उहाँले भन्नुभयो, “तर त्यसलाई सरसफाइ गर्न हामीले ध्यान दिएनाँै, यदि सरसफाइ गरेको भए यो समस्या आउने थिएन ।” अर्कोतर्फ मुहानबाट कार्यलयसम्म आउने १२।६ किलोमिटर पाइप निर्माण भएको ३५÷४० वर्ष पुरानो भएकाले त्यसमा चुनढुङ्गा जमेको भए पनि त्यसलाई सरसफाइ गर्न समितिले नै ध्यान दिनुपर्ने उनले बताए ।

त्यस्तै उपभोक्ताको घरमा जाने ४६ किलोमिटर पाइप पनि मर्मत गर्नुपर्ने अवस्थामा रहेको भन्दै यसतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । अर्कोतर्फ रोल्पाका दुईवटा मुहानबाट पानी ल्याइएको भए पनि ती मुहानहरु खानेपानी संस्थाको नाममा नभएकाले कुनै बेला पनि रोल्पाले आफ्नो पानीको मुहान जफत गर्न सक्ने भन्दै अन्य खानेपानी मुहान संरक्षणमा ध्यान दिनुपर्ने उहाँले जानकारी दिए ।