बाग्मती

मेन्स स्पोर्टस फिजिक च्याम्पियनशिप हुने

काठमाडौँ । ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल नाराका साथ राजधानीमा पाँचौँ मिस्टर फिटनेस फस्र्ट तथा मेन्स स्पोर्टस फिजिक च्याम्पियनशिप प्रतियोगिता–२०७५ हुने भएको छ ।

फिटनेस फस्र्ट क्लबद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही चैत ३० गते उक्त च्याम्पियनशिप गरिने आयोजकका अध्यक्ष राजकुमार कुँवरले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगितामा विभिन्न पाँच वजन समूहमा प्रतिस्पर्धा हुनेछ । सोमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

हरेक समूहका विजेताले पदकसहित रु १० हजार तथा उपविजेताले रु पाँच हजार पाउनेछन् । त्यसैगरी तेस्रो हुने खेलाडीले रु तीन हजार नगद प्राप्त गर्नेछन् भने चौथो र पाँचौँले ट्रफी पाउनेछन् । फिटनेस फस्र्ट प्रतियोगिताअन्तर्गत प्रत्येक समूहको विजेता टोलीबीच प्रतिस्पर्धा गराई समग्रमा पहिलो हुनेले मिस्टर फिटनेस फस्र्टको उपाधि दिइनेछ । उपाधि विजेताले रु ५० हजार पाउनेछन् ।

त्यस्तै मेन्स फिजिकमा १६५ सेमी मुनि र १६५ सेमी माथिका फरक फरक स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रत्येक उचाइ समूहका विजेताले रु १५ हजार तथा उपविजेताले रु पाँच हजार पाउनेछ । त्यस्तै तेस्रो हुने खेलाडीले रु तीन हजार पुरस्कार पाउनेछन् ।