गण्डकी प्रदेश

नौमतीबाजा सहितको उद्यान निर्माण शुरु

कास्की । विभिन्न उत्सव, चाडपर्व, शुभकार्य तथा सभासमारोहमा बजाइने नौमती बाजा प्रवद्र्धन गर्ने उद्देश्यले ती बाजाको ठूलो आकारको आकृतिसहित उद्यान निर्माण गर्ने भएको छ । स्थानीय पर्यटन प्रवद्र्धन समितिको पहलमा कास्की माछापुच्छ्रे गाउँपालिका–६ धितालस्थित पोखरी डाँडामा सो उद्यान निर्माण शुरु गरेको समितिका अध्यक्ष सुनिल दाहालले बताए ।

नेपाली मौलिक संस्कृतिको रुपमा रहेको पञ्चेबाजा तथा नौमतीबाजाको प्रचलन केही वर्षयता घट्दै गएपछि यसको प्रवद्र्धन गर्न दमाहा, सनही, नरसिंहा, कर्नाल, ढोलक र ट्याम्केको आकृति सहितको उद्यान निर्माण गर्न लागिएको उनले बताए । चालू आर्थिक वर्षभित्रमै निर्माण सम्पन्न गर्ने गरी उद्यानको लागि जमीन समथर बनाउने र तामाको स्वरुपमा नौमती बाजाको आकृति निर्माणको काम भइरहेको समितिले जनाएको छ ।

“संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित रु १५ लाख बजेटबाट सो काम शुरु गरिएको छ”, अध्यक्ष दाहालले भन्नुभयो, “नौमती बाजाको प्रयोग अहिले घट्दो छ । नयाँ पुस्ताले बाजा सुन्न त परै जाहोस् देख्न पनि पाएका छैनन् । त्यसैले सार्वजनिकस्थलमा राखेर भए पनि यसको प्रवद्र्धन गर्दै यसलाई पर्यटकीय गन्तव्य बनाउँछौँ” ।

समितिले करीब २० रोपनी जमीनमा बाजासहितको उद्यान निर्माण गर्न लागेको हो । मर्दी हिमाल पदयात्रामार्गमा पर्ने यो ठाउँ पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पोखराबाट ४५ मिनेटको दुरीमा पुगिने यस ठाउँबाट अन्नपूर्ण हिमशृङ्खला, पोखरा बजार तथा गाउँपालिकाका विभिन्न वडाको दृश्यावलोकन गर्न सकिन्छ ।

समितिका सचिव सोमनाथ ढुङ्गानाले बाजासहितको उद्यान निर्माणपछि पर्यटकको बसाइँ लम्बाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘पर्यटकका लागि प्रमुख गन्तव्य रहेको यस क्षेत्रमा यस्ता उद्यानको निर्माणले थप आकर्षित र आनन्दित बनाउने विश्वास लिएका छौं’, उनले भने ।

गण्डकी प्रदेश सरकारले पनि आन्तरिक भ्रमण वर्षका अवसरमा होमस्टेमा पर्यटकीय पूर्वाधार निर्माणमा पूँजीगत अनुदान उपलव्ध गराएसँगै होमस्टेका लागि यहाँ रु ३० लाख बजेट विनियोजन भएको छ । ह्याङजाकोट, भेँडाबारी र मर्दीहिमाल सामूदायिक होमस्टेमा गरी यहाँका १०० घरमा घरवास सञ्चालित छ । अस्तामका १० घरमा पनि व्यक्तिगत रुपमा घरवास सञ्चालन गरिएको छ भने पर्यटकको सुविधाका लागि यहाँ घरवाससँगै सुविधासम्पन्न होटल तथा रिसोर्ट खुलेका छन् । गाउँपालिकाका उपप्रमुख कृष्णकुमारी दवाडीले गाउँपालिकाका सबै वडा तथा पोखरा महानगरपालिका र माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य रहेको यो ठाउँमा निर्माण गरिने उद्यानबाट पर्यटकको बसाइँ बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाले पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखेको बताउँदै उनले नयाँ/नयाँ गन्तव्य पहिचान र पूर्वाधार निर्माणलाई चालू आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए । हेम्जाकोट, अस्ताम, धितालहुँदै मर्दी हिमालसम्म पर्यटन पदमार्ग निर्माणका लागि पनि गाउँपालिकाले योजना बनाएको उपप्रमुख दवाडीको भनाइ छ ।