सुदूरपश्चिम

४७ लघुउद्यामीलाई सामग्री वितरण

डोटी । घरेलु तथा साना उद्योग विकास समिति दिपायल राजपुरले जिल्लामा सञ्चालनमा रहेका ४७ लघुउद्यमी व्यवसायीलाई लघुउद्यममा प्रयोग गरिने सामग्री वितरण गरेको छ ।

आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जिल्लाभरिमा व्यापार व्यवसाय गरिरहेका तर उपकरण नहुँदा समस्यामा परेका व्यवसायीलाई छनोट गरी उक्त सामग्री वितरण गरिएको घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यालय प्रमुख नवराज गौतमले बताए । उनले भने, “जिल्लामा व्यापार÷व्यवसाय गरिरहेका तथा सामान नहुँदा समस्यामा परेका व्यवसायीले दिएको निवेदनका आधारमा छनोट गरी सामग्री वितरण गरेका छौँ, आशा छ उहाँहरुले अब राम्रै व्यवसाय गर्नु हुनेछ ।”

व्यवसायीले माग गरेका आधारमा दिइएका उक्त सामग्रीमा ८० प्रतिशत घरेलु तथा साना उद्योग विकास समितिको अनुदान तथा २० प्रतिशत माग गर्ने व्यवसायीको रकम रहेको बताइएको छ । उक्त सामग्रीले यहाँका लघुउद्यमीलाई आफ्नो व्यापार÷व्यवसाय गर्नमा निकै राहत हुने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए।

दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बाहिरी जिल्लाबाट खाद्यान्नलगायतका सामग्री निर्यात गरेर प्रयोग गर्नुभन्दा पनि जिल्लामै उत्पादन गर्नमा लघुउद्यमीलाई प्रोत्सान गर्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन कलेलले उद्यमीले आफूले उत्पादन गरेका चिज बिक्रीवितरण हुँदैनन् कि भन्ने चिन्ता लिनुुभन्दा कसरी बढी उत्पादन गर्न सकिन्छ त्यो विषयलाई ध्यान दिएर बढीभन्दा बढी उत्पादन गर्नमा लाग्नुपर्ने बताए ।

उद्योग विकास समितिले जिल्लामा उद्यमीको सीप विकासलगायत अन्य व्यापार÷व्यवसायमा सहयोग पु¥याउने हेतुले वर्षेनी लघुउद्यमसम्बन्धी तालीम तथा उपकरण वितरण गर्दै आएको छ । वितरण गरिएका सामग्रीमा सिलाइ मेसिन, सुइटर बुन्ने मेसिन, मासु राख्ने डिफ्रिज, मासु कटिङ गर्ने औजार, चाउमिन, पाउरोटी बनाउने मेसिन, व्यूटीपार्लरका सामग्री, दूध, दही, घिउ निकाल्ने मेसिनलगायतका सामग्री छन् ।