गण्डकी प्रदेश

कालीगण्डकीमा पुल निर्माण शुरु

कावासोती । नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवाको साँघुरीघाटदेखि तनहुँको घिरिङ सुन्धारा गाउँपालिका–१ जगौली जोड्ने कालीगण्डकी नदीमा पक्की पुल निर्माण हुने भएपछि यहाँका बासिन्दा खुशी भएका छन् ।

नदी वारपार गर्न पुरानो झोलुङ्गे पुलको भर पर्दै आएका यहाँका बासिन्दा पुल निर्माणपछि सहज हुने भएपछि खुशी भएका हुन् । जिल्ला सदरमुकाम कावासोती दूरीले टाढा पर्ने भएकाले यहाँका बासिन्दा किनमेल तथा औषधोपचार लगायतका कामका लागि तनहुँ र पोखरा जानुपर्दा नदीमा पुल नबन्दा धेरै समस्या हुने गरेको रकुवाकी स्थानीय ईश्वरी पङ्गेनीले बताए ।

पक्की पुल नहुँदा पैदल हिँड्नुपर्दा समस्या हुँदै आएको पङ्गेनीको भनाइ छ । पक्की पुल बनेपछि सवारी सञ्चालन भएमा यात्रा गर्न सहज हुने उनले बताए । नीलगिरि गौरी–पार्वती नेशनल जेभी काठमाडौँले चार वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरेर पुल निर्माणको काम शुरु गरेको छ । दुई सय १० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल दुई लेनको हुनेछ ।

केन्द्रीय सडक विभाग कार्यालयअन्तर्गत पुल विभागले रु २५ करोड ९३ लाख ५४ हजार ९०० बजेट उपलब्ध गराएको पुल निर्माण समितिका अध्यक्ष कुलमणि ढुङ्गानाले जानकारी दिए । पुल निर्माण सम्पन्न भएपछि नवलपुरको पहाडी क्षेत्र, तनहुँको घिरिङ र पाल्पाको निस्दी गाउँपालिकाका बासिन्दा लाभान्वित हुने ढुङ्गानाले बताए ।