कर्णाली प्रदेश

कर्णाली प्रदेश कारागारलाई किताब अभियान

हुम्ला । ‘कारागारलाई किताब अभियान’ उपसमितिले कारागारमा रहेका कैदीबन्दीका लागि जिल्लाको कारागारमा पुस्तकालय स्थापना गरेको छ । कारागारमा रहेका कैदीबन्दीलाई फुर्सदको समय सदुपयोग गरी अध्ययन गरी ज्ञान आर्जनमा सहज बनाउन र सकरात्मक परिवर्तन गराउन सकियोस् भन्ने उद्देश्यले कारागारमा पुस्तकालय स्थापना गरिएको हो ।

कारागार व्यवस्थापन विभागले तयार पारेको निर्देशिकाअनुसार कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहको अध्यक्षतामा गठन भएको ‘कर्णाली प्रदेश कारागारलाई किताब अभियान’ मूल समितिले प्रदेशका १० जिल्लामध्ये हुम्ला र मुगुबाहेक अन्य जिल्लामा यसभन्दा पहिले नै पुस्तकालय स्थापना भइसकेको उपसमितिका संयोजक एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । घर्तीमगरका अनुसार यी दुई जिल्लामा कारागार भवन नभएकाले ढिलाइ भए पनि शनिबार दश जिल्लामा पुस्ताकालय स्थापना भएका छन् ।

नवनिर्माण भइरहेको कारागार भवनमा पुस्तकालय स्थापना गरिएको छ । विसं २०७२ को संविधानमा समानताको प्रत्याभूतिको व्यवस्था गरिएकाले कैदीबन्दीलाई पनि समनताको प्रत्याभूति गराइ मानवीय व्यवहार होस् र स्वअध्ययनका लागि सामग्री पुगोस् भनेर कारागारमा पुस्तकालय स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।

पुस्तकालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सिमकोट गाउँपालिकाका अध्यक्षसहित वडाध्यक्ष, लेखक, सरोकार निकायका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो । कार्यक्रममा विभिन्न साहित्यकर्मीले पुस्तकालयका लागि पुस्तक प्रदान गरेका थिए ।

हिरासतमा बस्न बाध्य बन्दी

कारागार भवन नहुँदा अदालतको आदेशले थुनामा रहेका बन्दीलाई प्रहरी हिरासतमा राख्ने गरिएको छ । पुरानो कारागार भत्किसकेको र नयाँ भवन निर्माणका लागि बोलपत्रको प्रक्रियामा गएकाले बन्दी राख्ने भवन नहुँदा अदालतको आदेशले थुनामा रहेका बन्दीलाई हिरासतमा राख्ने गरिएको हो ।

महिला र पुरुष राख्ने दुई कोठा भएकाले अनुसन्धानका लागि राखिने थुनवालाई एउटा कोठामा र अदालतको आदेशबाट बन्दी भएकालाई अर्को कोठामा राख्ने गरिएको छ । यतिखेर अदालतको आदेशले थुनामा रहेका एक मात्र बन्दी छन् ।

दुई कोठा भएकाले महिला नहुँदा सहज हुने भए पनि महिला बन्दी आएमा समस्या हुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हरिहर खड्काले बताए । आदलतको आदेशले बन्दी बनाएका बढी भएमा कार्यालयले बाँके कारागारमा पठाउने गरेको छ । हालै मात्र दुई बन्दी बाँके कारागारमा पठाइएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

कार्यालयका अनुसार कारागार कार्यालय सञ्चालनका लागि भवन बनिरहेको र बन्दी राख्ने भवनका लागि बोलपत्र आह्वान भइरहेको छ । बोलपत्र प्रक्रिया पूरा भएपछि निर्माण शुरु हुनेछ । प्रहरी खोरमा बन्दी राख्नु पर्दा बन्दीले पाउने न्यूनतम सुविधामा फरक पर्ने गरेको छ ।