उर्जा

उद्योग वाणिज्य सङ्घको सचिवालयमा ऊर्जा व्यवस्थापन केन्द्रको स्थापना

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा रहेको उद्योग वाणिज्य सङ्घको सचिवालयमा ऊर्जा व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ । नेपाल सरकार र जर्मन सरकारको आपसी सहयोगमा नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा सञ्चालन हुँदै आएको (२०१८–२०२०) नेपाल ऊर्जा दक्षता आयोजना तेस्रो चरण कार्यक्रमअन्तर्गत सो केन्द्रको स्थापना गरिएको हो ।

विभिन्न ठूला उद्योग कलकारखानामा हुदैँ आएको विद्युत् चुहावट नियन्त्रण गर्ने उद्देश्यले सो केन्द्रको स्थापना गरिएको हो । यस्ता केन्द्र ठूला औद्योगिक क्षेत्र रहेका अन्य स्थानमा पनि स्थापना गरिने लक्ष्य लिइएको उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारी जानकारी दिए ।

वर्तमान अवस्थामा प्रभावकारी ऊर्जा नीति नहुँदा नेपालमा ठूलो समस्या देखिएको छ । ऊर्जा दक्षतासम्बन्धी नीति निर्माण साथै वैकल्पिक ऊर्जाको व्यवस्थापन आजको प्रमुख आवश्यकता भएको ऊर्जा तथा वातावरण विभागका प्रमुख डा उत्तम कुँवरले बताए ।

ऊर्जा व्यवस्थापन केन्द्रको विभिन्न ठूला उद्योग कलकारखानामा विद्युत्को उचितरूपमा प्रयोग गर्ने र चुहावट नियन्त्रण गर्ने कार्यमा निजी क्षेत्रलाई सघाउ पु¥याउने लक्ष्य छ । उद्योगमा हालको अवस्थामा विद्युतीय चुहावट रोक्न नसक्दा भारतीय बजारमा उत्पादित माल वस्तुसँग नेपाली उद्योगले सहजैरूपमा प्रतिष्पर्धा गर्न निकै समस्या देखिन्छ ।

स्थापना भएको यस केन्द्रले नवलपरासीमा भएका ठूला लगानीका उद्योगलाई विद्युत् चुहावट नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको सङ्घका अध्यक्ष केशवप्रसाद भण्डारीले बताए । विद्युत्बाटै निजी क्षेत्र धरासायी बन्दै गएकाले राज्यबाट अझै पनि निजी क्षेत्रलाई प्रभावकारीरूपमा सहुलियतपूर्ण विद्युत् प्राप्त हुन नसकेको उद्योग वाणिज्य सङ्घका उपाध्य नगेन्द्र अग्रहरिको भनाइ थियो ।

तेस्रो चरणको कार्यक्रमअन्तर्गत नवलपरासी जिल्लामा पनि उद्यमी व्यवसायीलाई ऊर्जा दक्षता तथा ऊर्जा व्यवस्थापन सम्बन्धी सेवा प्रदान गर्ने कार्यक्रमको लक्ष्य छ ।