राजनीति

काङ्ग्रेस समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्छः नेता पौडेल

भरतपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काङ्ग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारण राखेका छन्।

चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा नेता पौडेलले समयअनुसार काङ्ग्रेस परिवर्तन हुनुपर्ने बताएका हुन् ।

निर्वाचनका बेला टिकट दिँदा ध्यान पु¥याउन नसक्दा निर्वाचनको गणितमा काङ्ग्रेस पराजित भएको भए पनि विचारमा भने अगाडि रहेको उनले बताए । काङ्ग्रेसले सरकारमा हुँदा राज्यको ढुकुटी रित्तो पारेको भनी अहिलेको सरकारले प्रचार गरेको उनको आरोप छ । कम्युनिष्ट सरकारले काङ्ग्रेसलाई विभिन्न आरोप लगाएर गलत देखाउन खोजे पनि सफल नहुने उनको जिकिर । उनले सत्तारूढ नेताहरुकै संरक्षणमा देशमा भ्रष्टाचार बढेको बताए ।

नेपाली काङ्ग्रेस खैरहनी नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ ले रक्तदान गरेका छन् । रक्तदानसँगै २०७६ को भित्तेपात्रो लोकार्पणसमेत गरिएको थियो । कार्यक्रममा जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्वसभापति टेकप्रसाद गुरुङ, खैरहनी नगर समितिका सभापति शशिकुमार खनियाँ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।