पत्रपत्रिका

राजपाको केन्द्रीय समिति बैठक दुई वर्षमा एकपटक मात्रै

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को केन्द्रीय कार्यसमिति र पदाधिकारी बैठक दुई वर्षमा एकपटक मात्रै बसेको छ । मधेसकेन्द्रित ६ दल मिलेर ७ वैशाख ०७४ मा राजपा गठन भएको थियो ।

पार्टी गठन भएपछि स्थानीय तह निर्वाचनमा भाग लिने या नलिने भन्ने निर्णय गर्न ०७४ असोजमा पदाधिकारी र केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । त्यसपछि दुवै बैठक नबसेको महासचिव केशव झाले जानकारी दिए । ‘दुई वर्ष भयो, अहिलेसम्म न पदाधिकारी बैठक बसेको छ, न त केन्द्रीय समिति बैठक नै,’ झाले नयाँ पत्रिकासँग भने ।

किन बसेन बैठक ?
पार्टी विधानमा निश्चित समयमा बस्नैपर्ने भनेर नतोकिएको तथा आवश्यकता र औचित्य पनि नदेखिएकाले बैठक नबसिएको अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीले जानकारी दिए । ‘पार्टी विधानमा बैठकको निश्चित समय तोकिएको छैन । तत्काल पदाधिकारी बैठक बस्नुपर्ने आवश्यकता पनि देखिएको छैन,’ उनले भने, ‘०७४ असोजको पदाधिकारी र केन्द्रीय कार्यसमितिको बैठकले पार्टी महाधिवेशन गर्ने र त्यससम्बन्धी प्रक्रिया अगाडि बढाउन राजनीतिक समिति र अध्यक्षमण्डललाई म्यान्डेट दिएको थियो । त्यसैअनुरूप अध्यक्षमण्डलले सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ ।’

अबको बैठक पनि आवश्यकताले निर्धारण गर्ने भण्डारीले बताए । ‘महाधिवेशनको तयारी गर्न कति समिति बनाउने र कसरी घोषित मितिमा महाधिवेशन गर्ने भन्ने विषय जिल्लाबाट आएका सदस्यतासम्बन्धी प्रतिवेदन अध्ययन गरेपछि टुंगो लाग्छ,’ उनले भने, ‘त्यसपछि बस्नै पर्ने भयो भने बैठक बस्छौँ । आवश्यकता देखिएन भने पार्टी महाधिवेशनमा होमिन्छ ।’ राजपाले एकता महाधिवेशनको मिति आगामी ७–९ वैशाखका लागि तोकेको छ ।

पदाधिकारी र केन्द्रिय समितिका सदस्यको संख्या धेरै भएकाले स्थान व्यवस्थापन गर्न नसकेर बैठक नडाकिएको एक नेताले बताए । ‘६ पार्टीका नेताहरूलाई मिसाइएकाले संख्या धेरै छ । त्यसैले अरू समस्या होइन, स्थान व्यवस्थापन गर्न गाह्रो हुनाले बैठक नबसेको हो,’ उनले भने । राजपामा पदाधिकारी १ सय ३४ र केन्द्रीय समिति ८ सय १५ सदस्यीय छ ।

राजपाका धेरै निर्णय अध्यक्षमण्डल, राजनीतिक समिति र सचिवालयले गर्दै आएको छ । अध्यक्षमण्डलमा एकीकरण भएका ५ पार्टीका अध्यक्ष छन् । राजनीतिक समितिमा एकीकरणपूर्वका ६ पार्टीका वरिष्ठ नेता छन् । सचिवालयमा पूर्व ६ पार्टीका महासचिव र एक महिला सदस्य छन् । ‘पार्टीको सर्वोच्च निकाय अध्यक्षमण्डल हो, प्रायः निर्णय यसैले गर्छ,’ महासचिव झाले भने, ‘केही सल्लाह गर्न पर्ने भयो भने राजनीतिक समिति र सचिवालयसँग गर्ने गरिएको छ ।’

सोमबार अध्यक्षमण्डलको बैठक
महाधिवेशन तयारी गर्न अध्यक्षमण्डलको बैठक सोमबार बस्दै छ । बैठकले जिल्लाबाट आएका सदस्यतासम्बन्धी प्रतिवेदन अध्ययन गर्न तथा तयारीका लागि विभिन्न समिति बनाउने विभिन्न समिति बनाउने संयोजक भण्डारीले बताए । … नयाँ पत्रिकाबाट