समाचार

मन्त्री पण्डितद्वारा हावाहुरी प्रभावितलाई राहत वितरण

पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आज हुरी प्रभावित वीरगञ्ज महानगरपालिकाको वडा नं १८ सौराहामा राहत वितरण गरेका छन् । मन्त्री पण्डितले गत आइतबार आएको भीषण हुरी प्रभावित सौराहका ४० परिवालाई त्रिपाल र खाद्य सामग्री राहत वितरण गरेका हुन् । वीरगञ्ज आइपुगेका मन्त्री पण्डितले आफैँ प्रभावित क्षेत्रमा पुगी प्रतिपरिवार एक थान पाल र ३० किलोग्राम भएको चामल एक बोराका दरले वितरण गरेका हुन् ।

राहत वितरण गर्दै मन्त्री पण्डितले हावाहुरी प्रभावित सबैको घर वर्षायामभन्दा पहिला नै बन्ने दाबी गरे । घर निर्माणको जिम्मा नेपाली सेनालाई दिइएकाले समयमै घर बन्ने मन्त्री पण्डितको भनाइ थियो । राहत वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता नागेन्द्र चौधरी, रामचन्द्र साह, विचारी यादव, प्रदेश सांसद ओमप्रकाश शर्मा, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुवोध गुप्तालगायतको पनि सहभागिता रहेको थियो ।