समाचार

नेकपाका नेता, कार्यकर्ता बेरोजगार – नेत्री शाक्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी एकीकरण नटुङ्गिएकाले सरकारका राम्रो कामको प्रचार हुन नसकेको बताए । नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को भेलामा आज यहाँ उनले समयमा नै पार्टी एकीकरण नटुङ्एिकाले सरकारको राम्रा कामको प्रचार गर्ने नेता कार्यकर्ता नभएको बताए ।

“एकीकरण तल्लो तहसम्म नभएकाले नेता, कार्यकर्ता बेरोजगार हुनुपरेको छ”, उनले भने, “तल्लो तहमा निराश मेटाउन चाँडै एकता प्रक्रियालाई टुङग्याउनु पर्दछ ।” उनले पार्टी एकता नहुँदा पार्टीमा अहिले राजनीतिक र वैचारिक पद्दति नभएको समेत स्पष्ट पारे । उनले ठूलो पार्टी भए पनि एकीकरण नसकिँदा निर्वाचनमा गरिएका प्रतिबद्धता पूरा गर्न नसकिएको धारणा राखे । उनले अहिलेको सरकारको मुख्य लक्ष्य समाजवाद ल्याउने रहेको उल्लेख गर्दै सामाजिक न्यायसहितको नयाँ नेपाल बनाउन लाग्नुपर्ने बताए ।

नेकपाका प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले मुलुकको पुरानो संरचनाको अन्त्य गरी नयाँ संरचनाको विकास गर्नुपर्ने बताए। उनले मुलुकमा ठूलो परिवर्तन भएर अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपनि विकास निर्माणमा काम गर्ने सोचमा परिवर्तन आउन नसकेको बताए ।

प्रदेश नं ३ का सचिव आनन्द पोखरेलले मुलुक निर्माणको जिम्मा निर्माण व्यवसायीको भएकाले स्वच्छ र मर्यादित भएर काम गर्नुपर्ने बताए। भेलामा सङ्गठनका इन्चार्ज टङ्कप्रसाद चौलागाईंले ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई पूरा गर्न निर्माण व्यवसायी अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासङ्घका पूर्वअध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसायमा देखिएका कानूनी जटिलतालाई हटाउनुपर्ने बताए ।