अन्तर्राष्ट्रिय

भारतीय चुनावमा चर्चामा प्रियंका

भारत । कतिपयको विश्लेषण छ– रुप, रङ, लवाई खुवाई, व्यवहार, शैली इन्दिरा गान्धीको जस्तै छ त्यसैले उनी भारतको उच्च नेता बन्छिन् । कांग्रेसको प्रमुख प्रचारकको रुपमा रहेकी प्रियंकाको नम्रताले पनि हाल भारतमा धेरै व्यक्तिको मन छोएको बताइन्छ । भारतलाई माया गर्ने व्यक्तिहरुमा प्रियंकाको साधारण व्यक्तित्वले प्रभाव पारेको छ भनिन्छ । सन् १९७२ को जनवरी १२ मा जन्मिएकी प्रियंकाले मोडर्न स्कूलबाट विद्यालय स्तरको शिक्षा हासिल गरेकी हुन् । दिल्ली विश्वविद्यालयको जिसस एन्ड मेरी कलेजबाट उनले मनोविज्ञानमा स्नातकोत्तर गरेकी छन् । सन् १९९७ मा व्यापारी रोबर्ट वाड्रासँग उनको विवाह भयो । सन् २००४ को चुनावमा उनले आमा सोनिया गान्धीको निर्वाचन प्रचारकको रुपमा काम गरेकी थिइन् ।

राहुल काँग्रेसको अध्यक्ष बनेपछि प्रियंका निकै सक्रिय थिइन् तर पछि राहुलको सक्रियताका कारण पनि उनी पर्दा पछाडि बसेर काम गरेको बताइन्छ । अझ गान्धीहरूको निर्वाचन क्षेत्र अमेठी र रायबरेलीमा पनि प्रियंकाको चर्चा कम हुन थाल्यो । कांग्रेसमा यदाकदा प्रियंका गान्धीलाई सन् २०१९ को लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई टक्कर दिने अनुहारका रूपमा प्रस्तुत गर्नुपर्ने माग पनि उठेको हो । तर सोनिया गान्धी राहुललाई मात्र नेतृत्वको अनुहारका रूपमा देखाउन चाहन्थिन् । किनभने प्रियंकाले राजनीतिमा पाइला राख्दा नै दिदीभाईको बीचमा आम नागरिकले तुलना गर्न थाल्ने सोनियाको बुझाइ थियो ।

यसले गर्दा पार्टीमा गुटबन्दी हुन सक्ने पनि उनको अनुमान थियो । तर त्यस अनुमानलाई लत्याउँदै सोनिया गान्धीले अहिले प्रियंकालाई सक्रिय राजनीतिमा प्रवेश गर्ने अनुमति दिएकी हुन् । काँग्रेसको आलोचना विगतमा जस्तै छ, उही परिवारवाद । तर पनि एकपछि अर्कोगरी सदा परिवारवादको आरोप लाग्ने गरेकै गान्धी परिवारबाट निस्किएका नयाँ नयाँ सदस्यहरुका कारण आशा पनि थपिँदै छ । यही आशाको केन्द्रमा पछिल्लो समयमा राहुल र प्रियंका रहेका छन् ।