खेलकुद

पिकेडाँडाबाट म्याराथन आयोजना

पिकेडाँडा । खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित पिकेडाँडाबाट आज २१ किलोमिटरको ‘अल्ट्रा हाफ म्याराथन’  गरिएको छ ।

पिकेडाँडाको चार हजार २०० मिटरबाट शुरु भएको म्याराथन दुई हजार ५०० मिटरको खिजिदेम्वा बजारमा आएर टुङ्गिनेछ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, ओखलढुङ्गा पर्यटन विकास समिति तथा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल९टान०को आयोजनामा भएको म्याराथनमा ९४ धावकले सहभागिता जनाएका छन् ।

म्याराथनमा ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा रहेको पिकेडाँडा र त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको आयोजक समितिका अध्यक्ष ङवाङङिमा शेर्पाले बताए। म्याराथनका लागि धावकसहितको टोलीले बिहीबार चुप्लुङबाट पिकेडाँडाको पदयात्रा गरेको थियो ।

महिला र पुरुषलाई छुट्टाछुट्टै विधा राखेर आयोजित म्याराथनमा प्रथम हुने महिला र पुरुषलाई जनही रु ५० हजारसहित ट्रफी प्रमाणपत्रले सम्मान गरिने छ । क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ, छैटौँ र सातौँ हुनेलाई रु ४०, रु ३०, रु आठ, रु पाँच, रु तीन र रु एक हजार नगद पुरस्कार प्रदान गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेलकूद पर्यटकको सम्भावना बढी रहेकाले म्याराथनको आयोजना गरिएको आयोजकले जनाएको छ ।

म्याराथनको उद्घाटन गर्दै ओखलढुङ्गा पर्यटन विकास समितिका अध्यक्ष ङवानिमा शेर्पाले पिकेडाँडालाई पहाडी भेगकै उत्कृष्ठ गन्तब्यका रुपमा विकास गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको बताए । टानका महासचिव आङपपेम्बा शेर्पाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि यस्ता सम्भावना बोकेका पर्यटकीय गन्तब्यको प्रभावकारी प्रवद्र्धन गर्न जरुरी भएको उल्लेख गरे ।