समाचार

वंशजका आधारमा नागरिकता दिने सरकारको निर्णयको स्वागत

काठमाडौँ । जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने सरकारको निर्णय सकारात्मक रहेको भन्दै तराई मानवअधिकार रक्षक सञ्जाल ‘थर्ड एलायन्स’ले त्यसको स्वागत गरेको छ ।

यसअघि कानूनको अभावमा जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न नसकेको उल्लेख गर्दै सञ्जालले नागरिकताको अभावमा उनीहरुले उच्च शिक्षा, रोजगारलगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट वञ्चित हुन बाध्य भएको जनाएको छ ।

नागरिकता प्राप्तिमा विभिन्न बाधा अड्चनबाट प्रभावित व्यक्तिको हकमा थर्ड एलायन्सले निरन्तर बहस, पैरवी वकालत र कानूनी व्यवस्थाको लागि निरन्तर वकालत गर्दै आएको सञ्जालले जनाएको छ ।

युगल साँझ आयोजना हुने

बहुचर्चित लोकगायक एवं वरिष्ठ बाद्यबादक खर्कबहादुर बुढा मगर र उनकी धर्मपत्नी लीलावती बुढा मगरले ‘युगल साँझ’ गर्ने भएको छ ।

सल्यान सरोकार समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यही चैत २९ गते आयोजना हुने सो कार्यक्रम तीन घण्टा ३० मिनेटको हुने लोकगायक बुढामगरले जानकारी दिए । कार्यक्रममा १२ वटा गीतका साथै स्थानीय कलाकारबाट सल्यानमा नाचिने पैंसेरुँ, सोरठी र टप्पा नाँच प्रस्तुत गर्ने उनले जानकारी दिए ।

यी जोडीले मौलिक र स्थानीय गरी हालसम्म २०० लोकगीत रेकर्ड गराईसकेको छ । खर्कबहादुर बुढामगर गायक मात्र नभएर नेपालकै अब्बल बाद्यबादक पनि हुन् ।