सुदूरपश्चिम

संकटापन्न अवस्था रहेका गिद्धको संख्या बढ्दो

कञ्चनपुर । प्रकृतिको कुचिकारका रुपमा चिनिने अति संकटापन्न अबस्था रहेका गिद्धको संख्या बढ्दो अवस्थामा रहेको छ । स्थानिय बासिन्दामा गिद्ध जोगाउनु पर्ने जनचेतना बढेसंँगै गिद्धको संख्यामा बृद्धि हुन थालेको हो । बास स्थानको सुरक्षा हुन थालेपछि गिद्धले सहज रुपमा बस्ती नजिकैका क्षेत्रमा गुँड लगाएर बच्चा हुर्काउन थालेका छन् ।

नेपाल पंछी संरक्षण संघका हिरुलाल चौधरीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर पोष्ट नजिकको क्षेत्रमा १२, हिरापुर फाँटामा ६ र निकुञ्जकै मध्यवर्ती क्षेत्र बन्साहामा ८ गुँड गिद्धले लगाएको पाईएको छ । गिद्ध सर्भेक्षणका क्रममा गिद्धका गुँडहरु पाईएका हुन् । सबैभन्दा बढी गिद्धले लालझाडी मोहना संरक्षण क्षेत्रको पर्सियामा २१ वटा गुँड लगाएका छन् ।

उक्त संरक्षण क्षेत्रमा डंगर जातका गिद्धका दुई बच्चा विरामी अबस्थामा फेला परेकाले उपचार भैरहेको उनले बर्ताए । “जाडोयामका बेला गिद्ध विरामी हुने क्रम देखिन्छ, विस्तारै निको हुने गरेका छन्”, उनले भने । हुर्किने क्रममा बच्चा उडन नसक्दा घाईते भइ विरामीसमेत हुने गरेका छन् । निकुञ्जको हिरापुर फाँटामा सानो खैरो गिद्ध मरेको अबस्थामा फेला परेको र निकुञ्जकै कालीकिच क्षेत्रमा विरामी परेको गिद्ध निको भएर उडेको उनले बताए । मरेको गिद्ध बारे अनुसन्धान भइरहेको उनले बताए ।

संरक्षण संघले गरेको सर्भेक्षणमा कञ्चनपुरमा गत बर्ष ११९ गिद्ध फेला परेका थिए । यस बर्ष गिद्धको संख्यामा बढोत्तरीभै १५० देखि २०० को हाराहारीमा पुगेको हुन सक्ने चौधरीको भनाइ छ । विश्वमा गिद्धका २३ प्रजाती पाईने गरेपनि नेपालमा गिद्धका नौ प्रजाती मात्रै पाइने गरेका छन् । कञ्चनपुरमा डंगर, सानो खैरो, सुन गिद्ध, राज गिद्ध र हिमाली गिद्धलगायत सात प्रजातीका पाइने गरेका छन् ।