समाचार

एकिकृत घुम्ति शिविरमा छ सयले पाए नागरिकता

डोटी । जिल्लाको आदर्श गाउँपालिकामा सञ्चालन गरिएको एकिकृत घुम्ती शिविरमा ६०३ ले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा गाउँपालिकाको समन्वय र सहयोगमा तीन दिनसम्म सञ्चालन गरिएको उक्त शिविरमा सो सङ्ख्याले नागरिकता प्राप्त गरेका गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले जानकारी दिए ।

त्यस्तै उक्त शिविरबाट ६२४ जनाले मतदाता परिचय पत्र लिएका छन् भने ६८ जनाले स्वास्थ्य सेवा, ९३४ जनाले कृषि सम्बन्धी सेवा र ४४८ जनाले पशु सेवा लिएका उनले बताए । शिविरकै अवसरमा शारदा मध्यमिक विद्यालय मौवाका २४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

जिल्ला सदरमुकाम पुगेर नागरिकता लिन नसकेका मानिसहरुलाई गाउँमै गएर नागरिकता वितरण, निःशुल्क स्वास्थ्य उपचार, मतदाता परिचय पत्र लगायतका सेवा प्रदान गर्ने उद्धेश्यले एकिकृत घुम्ति शिविरको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।

जिप्रकाका प्रशासकीय अधिकृत सन्तोष शर्माको संयोजकत्वमा सञ्चालित उक्त शिविरमा भौगोलिक रुपमा ढाटा रहेका वडा नं ६ गिरीचौकीबाट नागरिकता बनाउन आएका स्थानियलाई यातायात सुविधा समेत निःशुल्क व्यवस्था गरिएको सो वडाका अध्यक्ष लालबहादुर खडायतले बताए ।