सुदूरपश्चिम

पानीको हाहाकार, दमकलद्धारा पानी वितरण

दार्चुला । महाकाली नगरपालिकाले सदरमुकाम खलङ्गामा पानीको हाहाकार भएपछि वारुणयन्त्र ‘दमकल’ मार्फत पानी वितरण शुरु गरेको छ । बजारमा वितरण गरिएको खानेपानी आपूर्ति हुन नसकेपछि नगरपालिकाले वारुणयन्त्र मार्फत पानी वितरण शुरु गरेको हो ।

नगरपालिकाका वडा नं ४ र ५ मा अहिले खानेपानी अभाव भएको छ । नगरपालिकामा वितरण भएको स्किम नम्बर २ र ३ बाट वितरण गरिएको पानी कमी भएपछि नगरवासीले दुई महिनादेखि खानेपानी समस्या झेल्दै आएका थिए ।
नगरपालिकामा वितरण भएको पानी अधिकांशको घरमा पुग्न नसकेपछि केहि दिनदेखि स्थानीयले खोलाबाट पानी बोकेर खानुपरेको थियो । नगरवासीले खानेपानी माग गर्दै दुई पटक नगरपालिका कार्यालयमा ज्ञापन बुझाउनुका साथै ध्यानकर्षण गराएका थिए ।

स्थानीयले सधै पानीको माग गर्न थालेपछि नगरपालिकाले शुक्रबारदेखि नगर क्षेत्रभित्र वारुण यन्त्रमार्फत पानी वितरण शुरु गरेको नगरपालिका प्रवक्ता पुष्कराज जोशीले जानकारी दिए । वारुण यन्त्र छिर्न सक्ने ठाउँसम्म पुगेर पानी वितरण शुरु गरिएको उनले बताए ।

उनका अनुसार तत्काल खानेपानी समस्या समाधान गर्ने विकल्प नभएपछि वारुण यन्त्रमार्फत पानी वितरण शुरु गरिएको हो । सदरमुकामका सबै ठाउँमा वारुण यन्त्र पुग्ने सडक छैन् । सडक नहुँदा तिंकर खेडा, जनता बैंक क्षेत्र, आर्मी व्यारेक क्षेत्रका स्थानीयलाई खानेपानी पुर्याउन सएिको छैन् । बजारको जिल्ला प्रहरी कार्यालय अगाडिसम्म वारुण यन्त्रमार्फत पानी वितरण गरिएको प्रवक्ता जोशीले बताए । यस्तै तिंकर सडक भएर नगरपालिकाको वडा नम्बर ५ मोहती क्षेत्र, उद्योग वाणिज्य पछाडिको क्षेत्रका स्थानीयलाई खानेपानी वितरण गरिएको छ ।

पहिलो दिन ४० हजार लिटर खानेपानी वितरण गरिएको सरसफाइको जिम्मेवारी हेर्दै आउनुभएका नगरपालिकाका सवओभरसियर मोहनसिंह कार्कीले बताए । घरमा जोडिएका धारामा बिहान बेलुकी ५ मिनेट पनि पानी आउँदैन् । वारुण यन्त्रबाट ल्याइएको पानी भएपनि अहिले काम चलाउनु परेको स्थानीय किसनसिंह धामीले बताए ।

नगरपालिकाले तत्कालीन खानेपानी समस्या समाधानको लागि झण्डै एक करोड २० लाख रुपैयाँ लागतमा बोलपत्र निकालेको छ । नगरपालिकाको गारख क्षेत्रबाट खानेपानी ल्याउने गरी टेण्डर निकालिएको नगरपालिकाका प्रमुख हंशराज भट्टले जानकारी दिए ।