बाग्मती

बदलिँदो समयसँगै पूर्वाधार वृद्धि गर्दै प्रतिस्पर्धी सौराहाका होटल

चितवन । खरको छानो र खडाइको बारले बनाइएका छाप्रोबाट शुरु गरिएको यहाँका होटल बदलिँदो समयसँगै पूर्वाधार वृद्धि गर्दै प्रतिस्पर्धी बनाउँदै लगिएको छ ।

विसं २०२९ मा चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरेसँगै प्रवेशद्वार सौराहामा खर र खडाइबाट निर्माण गरिएका होटल खुल्न शुरु गरेका थिए । तत्कालीन होटल तथा सामुदायिक विकास समितिका संस्थापक अध्यक्ष गिरीधारी चौधरीका अनुसार ‘इलाफेन्ट क्याम्प’ र गैँडा ‘वाइल्ड लाइफ’ले विसं २०३३ मा सौराहामा होटल शुरु गरेका हुन् । निकुञ्ज घुम्न आउने पर्यटकलाई लक्षित गर्दै त्यसपछि सौराहामा होटल खुल्न शुरु भएको उनले बताए ।

निकुञ्जभित्रको टाईगरटप्स होटल भने निकुञ्ज घोषणा हुनुअघिनै खुलेको थियो । होटल बढ्दै जाँदा प्रतिस्पर्धा पनि बढ्दै गएको छ । स्वदेश र विदेशका अन्य होटलसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने भएपछि व्यवसायीले स्तरवृद्धि गर्दै लगेको चौधरी बताउँछन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरे व्यवसायीले होटलका कोठा थप गर्ने, आन्तरिक र बाह्य सजावट परिवर्तन गर्ने, पौडी पोखरी थप गर्ने, जग्गा थपेर भए पनि बगैँचा निर्माण गर्ने गरेको बताउँछन् । यससँगै खानाको गुणस्तरमा पनि वृद्धि गर्न थालिएको छ ।

कम रकममा विदेशका विभिन्न शहरले नेपाली पर्यटक भित्र्याउन थालेपछि यहाँ आउने पर्यटकले त्यसको तुलना गर्न थालेका छन् । जसका कारण खाजा र खानामा गुणस्तर वृद्धि गर्न होटलले शुरु गरेका छन् । घिमिरेका अनुसार प्रतिस्पर्धी बन्न नसक्ने होटल पछि परेका छन् । कुनै समय साझा शौचालय भएका कोठामा पनि होटल चल्ने गरेको बताउँदै उनले अहिले ग्राहकलाई रिजाउनका लागि पौडी पोखरीसमेत अनिवार्य भइसकेको बताए ।

शौचालयसहितको वातावरण अनुकूलित कोठा सामान्य भएका छन् । सौराहामा रहेका ११० होटलमध्ये १५ वटामा पौडी पोखरी पनि रहेका छन् । पौडी पोखरी नहुनेले निर्माणका लागि गृहकार्य गरिरहेको उनले बताए । चितवन र नवलपुर क्षेत्रमा पर्यटकीय होटलको सङ्ख्या १५० वटा रहेका छन् । सौराह, भरतपुर, पटिहानी, जगतपुर, मेघौलीसँगै नवलपुरको नारायणी छेउमा पर्यटकीय होटल रहेका छन् । ती होटलमा रु १५ अर्बभन्दा बढी लगानी भइसकेको घिमिरेले बताए ।

ठूला व्यावसायिक घरानियाँ र व्यावसायिक समूहले ठूलो लगानीमा होटल सञ्चालनमा ल्याउन लागेको घिमिरेले बताए । उनका अनुसार १० वटा ठूला होटल बन्दै गरेका छन् । अहिले बन्दै गरेका होटल सुविधा सम्पन्न रहेका छन् । जिल्लामा सुविधा भएर पनि स्तर निर्धारण (तारा) नलिएको भन्दै उनले अब प्रतिस्पर्धी हुनका लागि होटलको गुणस्तर बढाएर स्तर मापदण्ड निर्धारण गर्नुपर्ने बताए । होटलसँगै कफी सप, बेकरी पनि खुल्ने क्रम जारी छ । हाल जिल्लामा वार्षिकरुपमा दुई लाख पर्यटक भित्रने गरेका छन् । अहिलेका सबै होटल चल्न वार्षिक चार लाख पर्यटक भित्र्याउनु पर्ने घिमिरेले बताए ।

क्षेत्रीय होटल सङ्घका प्रथम उपाध्यक्ष दीपक भट्टराई पर्यटन वर्ष सन् २०२० लाई लक्षित गर्दै होटलले मर्मतसम्भार र स्तरवृद्धिको काम गर्दै गरेको बताउँछन् । स्थिर सरकार बनेसँगै स्वदेशी र विदेशी धेरै पर्यटक भित्रने अपेक्षासहित व्यवसायीले उत्साहित ढङ्गबाट स्तरवृद्धिको काम गरिरहेको उनले बताए । विदेशका होटलसँग प्रतिस्पर्धी बनाउने समय आएको भन्दै उनले सकारात्मक सन्देश प्रवाह गर्न आफ्नो होटलको स्तरवृद्धि गर्न सबैसँग अनुरोध गरिएको बताए ।

उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी अहिलेका होटलका संरचनालाई पुनः संरचना गरेर अघि बढ्नुपर्ने समय आएको बताउँछन् । प्रतिस्पर्धाको नाममा गुणस्तर घटाउन नहुने भन्दै उनले स्वदेशी र विदेशी पर्यटकलाई उच्चस्तरको सुविधा प्रदान गर्न नसकिएमा पर्यटक भित्र्याउन कठिन हुने बताए । मुख्यरुपमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न पर्यटक यहाँ आउने गर्दछन् । यसका अतिरिक्त पवित्र तीर्थस्थल देवघाट, त्रिशूलीको ¥याफ्टिङ, जिल्लाको सबैभन्दा अग्लो ठाउँ सिराइचुलीमा रमाउन पर्यटक आउने गर्दछन् ।