पर्यटन/संस्कृति

पर्यटन प्रवद्र्धनमा स्थानीय तह

भीमदत्तनगर । विश्वकै ठूलो झुण्डामा देखिने बाह्रसिङ्गा र थोरै क्षेत्रफलमा धेरै पाटेबाघ भएको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा केही वर्षयता वार्षिक चार हजार पर्यटकले अवलोकन भ्रमण गरेको तथ्याङ्क छ ।

तीन सय पाँच वर्गकिलोमिटरमा फैलिएको शुक्लाफाँटा वन्यजन्तु, जैविक विविधताले भरिपूर्ण निकुञ्ज भएपनि त्यसको प्रचारप्रसारले व्यापकता नपाउँदा पर्यटक आगमन न्यून भइरहेका बेला यहाँका स्थानीय तह त्यसको प्रचार र विकासका लागि अग्रसर भएका छन् । निकुञ्जभित्रै रहेको ५५ वर्गकिलोमिटरमा फैलिएको घाँसै मैदान पनि तराईका संरक्षित क्षेत्रभित्रको सबैभन्दा ठूलो फाँट हो ।

सोही फाँटमा करीब दुई हजार बढीको सङ्ख्याको बथानमा बाह्रसिङ्गा हेर्न सहजै पाइन्छ । १६ वटा पाटे बाघ र १७ वटा गैँडा रहेको शुक्लाफाँटामा ४५४ प्रजातिका चराचुरुङ्गीको बासस्थान पनि हो । भीमदत्त नगरपालिकाको संयोजनमा यहाँ भएको सात दिने शुक्लाफाँटा पर्यटन महोत्सवमा एक हजार ८०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले यहाँको अवलोकन गरे ।

शुक्लाफाँटाभित्रको संरचना निर्माण, पर्यटकमैत्री नगर र शुक्लाफाँटाको प्रचारप्रसारमा हातेमालो गर्न भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले पर्यटन व्यवसायीलाई आग्रहसमेत गरे । “शुक्लाफाँटामा हात्ती चढेर यात्रा गर्ने तथा प्रकृतिको अवलोकनको व्यवस्था कसरी गर्नुपर्छ, समस्या कहाँनिर हो आउनुहोस् अब समन्वय गरेर अघि बढौँ ।” नगरप्रमुख विष्टले भने, “योजनासहित स्थानीय सरकारमा आए हामी सहयोग गर्न तत्पर छौँ ।”

उनले भीमदत्तनगरमा पर्ने शुक्लाफाँटासँगै एशियाकै लामो महाकाली नदीमा रहेको झोलुङ्गे पुल छेउमा उद्यान बनाउन पनि नगरपालिका बजेटसहित अघि बढिसकेको बताए । “उत्तर शिरानमा रहेको धार्मिक पर्यटनको अर्को सम्भावनाको झिलमिला ताल पुग्ने पक्की सडक निमार्णाधीन अवस्थामा छ ।” उनले भने, “ताल क्षेत्रमा दृश्य अवलोकन केन्द्र निर्माणदेखि धार्मिक पर्यटनको विकासका योजना अघि बढेका छन् ।” भारतसित सिमाना जोडिएको कञ्चनपुरका पर्यटकीय सम्भावना उजागर गर्न यहाँका सबै नगर र गाउँपालिका लागि परेका छन् ।

पश्चिमी नाका गड्डाचौकीमा डिजिटल सूचना पाटी राख्नेदेखि यहाँका पहाडी जिल्लाका स्थानीय तहसित पनि पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सहकार्य गर्ने निर्णय भइसकेको नगरपालिकाले जनाएको छ । “समृद्धिका लागि पर्यटन मात्र नभई पर्यटनका लागि सहकार्य गर्न स्थानीय तह तयार छन् ।” नगरप्रमुख विष्टले भने, “पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि पछि हटिन्न ।” भीमदत्तनगरपालिकाले नगरक्षेत्रको धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्र समेटेर वृतचित्र निर्माण गरेको छ ।

त्यसैगरी यहाँको बेदकोट नगरपालिकामा पनि थुप्रै पर्यटकीय क्षेत्र पर्दछन् । पछिल्लो केही वर्षयता निकै चर्चामा रहेको शिवलिङ्गा धार्मिक क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । पर्यटकको चहलपहल बढेसँगै त्यहाँ संरचना निर्माणदेखि सडक सञ्जाल विस्तारका लागि बेदकोट नगरपालिका लागि परेको छ । चुरेफेदमा रहेको धार्मिक पर्यटकीयस्थल ‘शिवलिङ्गा’ले आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन थालेको छ ।

यहाँ दैनिक तीनदेखि पाँचसय पर्यटक अवलोकनका लागि आउने गरेका छन् । वर्र्षौंदेखि माटो र ढुङ्गाको मिश्रणबाट शिव लिङ्गजस्तै देखिने आकारका ठूल्ठूला पहाडबाट प्राकृतिक रुपले बनेको शिवलिङ्गा हेर्न आउने जो कोही पर्यटक पनि उक्त दृश्य देखेर रमाउने गरेको नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दको भनाइ छ । नगरपाकिलाको पहलमा केही महीनाअघि बेदकोट ताल र लिङ्गा क्षेत्रको अवलोकनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन यहाँ आएका थिए ।

उपराष्ट्रपति पुनले यहाँको शुक्लाफाँटा, झोलुङ्गे पुल लिङ्गा र बेदकोट तालको अवलोकन गरेका थिए । नगरपालिकाले बेदकोट ताल क्षेत्रमा पर्यटकको सुविधाका लागि निर्माण गरेको दृश्यावलोकन केन्द्र सञ्चालनमा आइसकेको छ । चालू वर्षलाई बेदकोट भ्रमण वर्षका रुपमा नगरपालिकाले मनाइरहेको छ ।

त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकाले पनि पर्यटन प्रर्वद्धनका लागि बजेट बिनियोजन गरेर अघि बढेको प्रवक्ता जगतबहादुर सिंहले जानकारी दिए। “यहाँ धार्मिक पर्यटनका धेरै गन्तव्य छन् ।” प्रवक्ता सिंहले भने, “तिनको संरक्षण र विकास विस्तारका लागि नगरपालिका सक्रियरुपमा लागेको छ ।” नौवटा स्थानीय तह रहेको कञ्चनपुरका सबै तहले पर्यटनको क्षेत्रमा सक्रियरुपमा योजनासहित अघि बढेका छन् ।