सुदूरपश्चिम

एकै परिवारका चारै जना अपाङ्गता, छाक टार्न समस्या

बझाङ । जिल्लाको बुगंल नगरपालिका–११ देउलीकोटमा एकै घरका चार जनामा अपाङ्गता भएपछि परिवारका सदस्यलाई छाक टार्न समस्या भएको छ ।

घरका मूलीसहित परिवारका सबै सदस्यमा अपाङ्गता भएपछि उनीहरुको दैनिक रोजीरोटीमा समस्या भएको हो । ४५ वर्षीया नरि बोहरा, उनकी श्रीमती ४२ वर्षीया भागादेवी र दुई छोरा १४ वर्षीया रवीन्द्र र १२ वर्षीय नवीनलाई अपाङ्गता भएपछि परिवार सधै समस्यामा पर्दै आएको छ । काम गर्ने अर्को मान्छे कोही नभएपछि बोहरा परिवार जिल्लाका विभिन्न ठाउँमा माग्दै गुजारा चलाउने गर्छन् ।

घरका सबैमा अपाङ्गता भएकाकाले यो परिवारलाई जीवन धान्न समस्या छ । घरमूली रहेका नरिको दाँया खुट्टामा समस्या भएकोले हिँडडुल गर्ने समस्या छ । त्यसैगरी उनकी श्रीमती भागादेवीको पनि दायाँ खुट्टा चल्दैन । त्यसैगरी दुबै छोरा न्यून दृष्टिका हुन् ।

जिल्लाको दुर्गम देउलीकोटबाट परिवारनै जिल्ला प्रशासन कार्यालयबाट आर्थिक सङ्कलन गर्ने प्रमाण बनाउन आएका थिए । आफ्ना दुई छोरासहित सदरमुकाम चैनपुर आर्थिक सहयोग माग्दै आएका नरिले भने, “घरमा काम गर्ने कोही छैन, सबैमा अपाङ्गता छ, छोराछोरी पढाउन खान लाउन समस्या छ त्यसैले बजारमा माग्दै छु ।”

बाठपाली माविमा अध्ययन गर्दै आएका छोराहरुलाई आर्थिक अभावका कारण विद्यालय छुटाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो । बोहराको परिवारमा चारै जनासँग अपाङ्गता परिचयपत्र छ । कान्छो छोरा नवीनको (क) श्रेणीको अपाङ्गता परिचयपत्र भएकाले सरकारले मासिक रु दुई हजार दिने गरेकोले त्यसैबाट घर खर्च चलाउँदै आएको बोहराले बताए । घरका अन्य तीन जनासँग (घ) श्रेणीको परिचयपत्र भएकाले राज्यबाट पाउनुपर्ने सुविधाबाट उनीहरु वञ्चित छन् । आफूहरुले पनि राहत पाउने पर्ने उनीहरुको माग छ ।

घरमूली नरिको एक्कासि खुट्टामा घाउ भएर उपचार गर्न नपाएर अपाङ्गता भएको हो भने उनकी श्रीमतीको जन्मजात एउटा खुट्टा चल्न नसक्ने थियो । त्यसैगरी बोहराका दुवै छोरा जन्मजात न्यून दृष्टिका हुन् । जेठो छोरा रवीन्द्रको धनगढी उपचार गरेर सामान्य उपचार हिँडडुल गर्न सक्छन् भने कान्छो छोरा नवीनले अरुको सहारा लिनुपर्छ ।