अन्तर्राष्ट्रिय

राष्ट्रसंघ महासचिवसँग लिवियाली सैनिक कमाण्डर हफ्तारको भेट

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग लिवियाली सैनिक नेता खालिफा हफ्तारले भेट गरेका उनको स्वघोषित लिवियाली नेशनल आर्मीले जानकारी गराएको छ ।

पछिल्लो समय लिवियामा देखिएको सैन्य तनावप्रति संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार चासो व्यक्त गरेका थिए । उनले लिवियाको समस्या सैनिक बलको प्रयोगबाट सम्भव नहुने लिवियाली सरकार र विद्रोही पक्षबीचको वार्ता समस्या समाधानको उत्कृष्ठ विकल्प भएको बताउनु भएको थियो ।

राष्ट्रसङ्घका महासचिव बुधबार लिवियाली राजधानी त्रिपोली आएका हुन्। पूर्वी क्षेत्रमा रहेका लिवियाली सेनाका प्रवक्ताले बुधबार एक विज्ञप्ति जारी गरी सेनाले देशको पश्चिमी क्षेत्रतर्फ बढ्न लागेको बताएका थिए । लिवियाको राजधानी त्रिपोलीसहित पश्चिममा सैनिक अघि बढ्ने र विद्रोहीको नियन्त्रणबाट लिवियालाई स्वतन्त्र गर्ने सैनिक प्रवक्ताले घोषणा गरेका थिए ।

पूर्वी शहर बेङघाजीमा भेटवार्ता भएको जनाइएपनि हफ्तार समूहले भेटबारे बिस्तृत विवरण सार्वजनिक गरेको छैन । राष्ट्रसंघ प्रमुख गुटेर्रेसले संयुक्त शुक्रबार ट्वीटमार्फत आफूले लिवियालाई थप सैन्य झडप हुन नदिने आफ्नो लक्ष्य रहेको र यसका लागि सरकार र विद्रोही नेतासँग भेट गरिरहेको बताएको केही घण्टापछि हफ्तारको समूहले आफ्ना नेताको राष्ट्रसंघका महासचिव गुटेर्रेससँग भेट भएको जनाएको हो ।

लिवियाको पूर्वमा सैनिकको समर्थन प्राप्त खालिफा हफ्तरको नेतृत्वको सरकार रहेको छ । देशमा अहिले पूर्वी र पश्चिमी क्षेत्रमा दुई छुट्टाछुट्टै सरकारको अस्तित्व रहेको छ । सन् २०११ मा तत्कालीन तानाशाह मोहम्मर गद्दाफीलाई जनआन्दोलनको बलमा पदच्युत गरिएपछि अहिले असुरक्षा र अस्तव्यस्थताबीच लिवियाली जनताहरू प्रजातान्त्रिक रूपान्तरणका लागि सङ्घर्षरत रहेका छन् । हफ्तारको समूह गद्दाफीको सेनालाई समेटेर आन्दोलनरत पक्ष हो ।