पर्यटन/संस्कृति

पीडितको राहत सङ्कलनका लागि पर्यटन क्षेत्रका सङ्घ संस्था जुटे

काठमाडौँ । हावाहुरीबाट प्रभावित क्षेत्रका पीडितको सहयोगार्थ राहत सङ्कलनका लागि पर्यटन क्षेत्रका अगुवा सङ्घ संस्था जुटेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), होटल एशोसिएसन अफ नेपाल (हान) लगायत संस्थाले हावाहुरी प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सङ्कलन अभियान चलाएका हुन् ।

ती संस्थाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर विपद्को घडीमा पीडितको सहयोगमा जुट्न सम्पूर्ण व्यवसायीमा अपिल गरेका छन् । टानका अध्यक्ष नवराज दाहालले पर्यटनका क्षेत्रमा केन्द्रित संस्थाले देशमा आइपरेको विपत्तिलाई मध्यनजर गर्दै हुरी प्रभावित राहत अभियानमा जुट्न पर्यटन व्यवसायीलाई आग्रह गरिएको बताए ।

टान सचिवालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले हिमाल आरोहण र पदयात्राका क्रममा समस्या पर्दा उद्धार तथा राहत वितरण गर्दै आए पनि तराईमा आएको हावाहुरी पीडितका लागि राहत सङ्कलनमा जुटेको उल्लेख गरे । टानको कार्यसमिति, साधारण सदस्य तथा क्षेत्रीय कार्यालयलाई समेत राहतका लागि जुट्न निर्देशन गरिएको टानले जनाएको छ ।

टानले चन्द्र गुरुङको संयोजकत्वमा राहत सङ्कलन गर्ने गरी आफ्ना सबै सदस्यलाई मेगा बैंकमा रहेको संस्थाको खाता नं ००१००६०२४६७९५ समेत सर्कुलर गरिसकेको छ । नगद, खाद्य सामग्रीलगायत अत्यावश्यक सामग्री सङ्कलन गरी एक हप्ताभित्रै सम्बन्धित निकायमार्फत राहत वितरण गरिनेछ । पहिलो दिनमै रु ६७ हजार जम्मा भएको छ ।

यस्तै हानले विज्ञप्ति निकालेर हावाहुरी प्रभावितका लागि राहत कोष स्थापना गरी सम्पूर्ण सदस्यलगायत इच्छुक व्यक्तिलाई सहयोग गर्न अनुरोध गरेको छ । सिद्धार्थ बैंक लिमिटेडको खाता नं ००४१५०८९२६८ मा राहतस्वरुप रकम जम्मा गर्न हानले अनुरोध गरेको छ । यस्तै नेपाल पर्यटन परिषद्ले पनि राहत सङ्कलन गरिरहेको परिषद्का संयोजक गोपालबाबु श्रेष्ठले बताउनुभयो । गत आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा धनजनको क्षति भएको थियो ।