खेलकुद

क्षेत्रीयस्तरको खेल मैदानको निर्माण शुरु

बेत्रावती । नुवाकोटको लिखु गाउँपालिका–५ अल्छेचउरमा क्षेत्रीयस्तरको खेल मैदानको निर्माण थालिएको छ । प्रदेश नं ३ सरकारले खेल मैदान निर्माण गर्न रु ५० लाख उपलब्ध गराएको छ ।

सो रकमले फुटबल, क्रिकेट, भलिबल लगायत खेल गतिविधि सञ्चालनका लागि मैदान बनाउन थालिएको हो । निर्माण एक महीनाभित्र पूरा गर्ने जिम्मेवारी उपभोक्ता समितिलाई दिइएको गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले जानकारी दिए । एक सय ५० रोपनी सरकारी जग्गामा सो मैदान निर्माण भइरहेको छ ।

दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा खेल मैदानसँगै कभर्डहलसमेत बनाइने उपभोक्ता समितिका अध्यक्ष दशरथ घिमिरेले जानकारी दिए । कभर्डहल बनाउन बहुवर्षीय योजनामार्फत थप रु ५० लाख प्रदेश सरकारले उपलब्ध गराउने छ । कभर्डहलमा तेक्वान्दो, कराते, ब्याडमिन्टन, कुस्तीलगायत प्रतियोगिता सञ्चालन गर्न सकिनेछ । यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारिएको छ ।