समाचार

आजदेखि नयाँ संवत्सर शुरु हुँदै

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गतेदेखि नयाँ संवत्सर शुरु हुँदैछ । शनिबार बिहानीको सूर्र्योदयसँगै ‘विरोधीकृत’ नामक संवत्सर समाप्त भई ‘परिधावी’ नामक संवत्सर शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सौरमासअनुसार नव वर्ष वैशाख १ गतेदेखि शुरु हुने भए पनि चन्द्रमासअनुसार शनिबारदेखि नै नयाँ संवत्सर प्रारम्भ हुन्छ । परिधावी नामक संवत्सरको ग्रहपरिषद्मा शनि राजा र सूर्य प्रधानमन्त्री पदमा आसीन भएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए ।

देश विशेषका शासकले सम्बन्धित राज्यमा शासन गरेजस्तै विश्व ब्रह्माण्डको शासन ग्रहपरिषद्ले गर्ने शास्त्रीय मान्यता छ । शनिलाई सूर्यको छोरा मानिन्छ । बाबु छोरा भए पनि यी दुई ग्रहबीच आपसमा शत्रुतापूर्ण सम्बन्ध रहेको चर्चा पुराण आदि धार्मिक ग्रन्थमा गरिएको छ ।