प्रदेश 1

कोशीमा आगलागीबाट नौ घर जलेर खरानी

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जमा आज आगलागी हुँदा नौ घर जलेको छ । विद्युत् सर्ट भई अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा नौ परिवारको फुसको घर जलेर खरानी भएको कोशी गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले जानकारी दिए । आगलागी परेर स्थानीय रहमान मियाँ, लतिफ मियाँ, सलिम मियाँ, फिरोज मियाँ, मलिम मियाँ, कलाम मियाँ, कैयुम मियाँ र ऐजुव मियाँलगायतका घर पूर्णरुपले जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

आगलागीमा परेर घरभित्र रहेको अन्नपात, भाडाकुँडा, लत्ताकपडा, फर्निचरका सामग्री जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ । आगलागीलाई स्थानीयवासी, प्रहरी, इनरुवा, दुहवी र इटहरीबाट गएको बारुणयन्त्रले दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।