राजनीति

छोराछोरीको भेदभाब हटाउन छोरीलाई स्कुल अनिवार्य गर्नुपर्छः बरिष्ठ नेता नेपाल

जनकपुरधाम । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान संविधानले सबै जातजातिको अधिकारलाई सुनिश्चित गरेको बताएका छन् ।
कैथबनियाँ सेवा समाजको दोस्रो राष्ट्रिय महाधिवेशनको आज जनकपुरधाममा उद्घाटन गर्दै नेपालले संविधानले १३६ जातजातिको अधिकारलाई सुनिश्चित गरेको छ भने । आफ्नो इतिहासप्रति गौरव बोध गर्दै सबैले मिलेर समृद्धिको बाटोमा अग्रसर हुनु अहिलेको आवश्यकता भएको बताए । उनले जातजातिको रङविरङको सुन्दरतालाई बचाउनु जरूरी छ भने ।

समाजमा दाइजोका कारण छोरीसँग विभेद गर्ने मनोदशामा परिवर्तनका लागि छोरीलाई अनिबार्य रुपमा पढ्न स्कुल पठाउनुपर्ने खाँचो औाल्याउँदै नेता नेपालले देश नयाँ युगमा प्रवेश गरेको अवस्थामा पनि कुरीति कायम रहनु चिन्ताको विषय भएको धारणा राखे । छोरालाई सम्मान र छोरीलाई अपमान नगरी दुवैलाई समान व्यवहार र संस्कार दिनु अपरिहार्य भइसकेको छ भन्दै उनले प्रेम र सद्भावसँगै सामाजिक सौहार्दता कायम राख्नु पर्दछ भने ।

नेता नेपालले प्रगतिप्रति वैरभाव र सङ्कीर्णभाव नराखी नयाँ सोच, जागरणसँगै सुसंस्कृति र संस्कारलाई जीवन्त राख्नुपर्ने उल्लेख गरे । प्रदेशसभा सदस्य शत्रुधन महतो र रामआशीष यादवले कुनै पनि समुदायले हीन भावना नराखी सामाजिक कुरीतिको अन्त्य गर्न एकजुट हुुनुपर्दछ भने ।