राजनीति

ओली सरकारका गलत कार्यको बिरोध गर्नेबेलामा काँग्रेस आफैं आन्तरिक कलहमा फस्योः नेतृ बस्नेत

भक्तपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले नेपाली काङ्ग्रेस यतिखेर प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बेलामा आन्तरिक विवादमै रुमलिएको बताएका छन् ।

नेपाली काङ्ग्रेस सूर्यविनायक वडा नं ८ को वडा कार्यालय समिति कार्यालयको आज उद्घाटन गर्दै उनले सरकारका गतिविधि नियाल्ने र त्यसको समीक्षा गरेर अगाडि बढ्नुपर्ने बेलामा काङ्ग्रेस आन्तरिक कलहमा फसेको बताएका हुन् ।

काङ्ग्रेस पार्टी विधानसम्मतरुपमा अगाडि बढे पार्टीको सबै कलह अन्त्य हुने बताउँदै उनले यसतर्फ अग्रज नेताहरुले ध्यान दिन नसकेको भनाइ राए । नेपाली काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले भक्तपुरलाई भ्रष्टचारीमुक्त जिल्ला बनाउन चुनौती आएको धारणा राखे ।

कार्यक्रममा गिरिजाप्रसाद कोइराला प्रतिष्ठान जिल्ला समिति भक्तपुरका संयोजक विदुरमानसिंह बस्नेत, काङ्ग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति नारायणभक्त खायमलीलगायतले काङ्ग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।