समाचार

पार्टी र सरकारभित्रका कमजोर कुरालाई कलम तिखारेर लेख्नुहोस् –परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारका नराम्रो कामको आलोचना गर्न लेखकलाई आग्रह गरेका छन् । आज प्रगतिशील लेखक सङ्घको ११ औँ राष्ट्रिय सम्मेलनको यहाँ उद्घाटन गर्दै उनले लेखकलाई सरकारको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्न आग्रह गरेका छन् ।

“पार्टी र सरकारभित्रका कमजोर कुरालाई कलम तिखारेर लेख्नुहोस्”, उनले भने “हामी लेखकले लेखेका कुरालाई आत्मसात् गर्दै भएका कमजोरी हटाउने छौँ ।” दल नजिक हुनु वा नहुनु लेखकको कुनै सम्बन्ध नभएको स्पष्ट पार्दै उनले प्रगतिशील लेखकले सरकारलाई सही दृष्टिकोण दिने खालका लेख लेख्नुपर्ने बताए ।

मन्त्री ज्ञवालीले मुलुकमा राजनीतिक रुपान्तरण गर्न लेखकको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै अब सांस्कृतिक रुपान्तरणमा ध्यान दिनुपर्ने बताए । उनले सांस्कृतिक रुपान्तरणका नाममा विचार, सिद्धान्तमाथि विभिन्न पक्षबाट हमला हुन थालेको भन्दै प्रगतिशील लेखक सङ्घले त्यस्ता हमलामाथि धावा बोल्नुपर्ने बताए ।

“सांस्कृति रुपान्तरणका नाममा केहीले आफ्ना विचार र सिद्धान्त लाद्न खोजिएको छन्” उनले भने “यो वामपन्थी हमला नभएर समग्रमाथिको हमला हो । यस्ता खालका हमलालाई लेखकले आफ्ना लेखबाट प्रतिकार गर्नु पर्ने बताए ।” उनले मुलुक नयाँ रुपान्तरणको बाटोमा रहेकाले सरकारले जनताका सेवा प्रवाहमा चुस्तता ल्याउने थालेको बताए।

सांस्कृतिक रुपान्तरणको सोचजस्तो नभएकाले त्यसको अगुवा गर्न लेखकलाई आग्रह गरे । “सामाजिक रुपान्तरण सोचेजस्ता भएको छैन । सामाजिक रुपान्तरणका लागि माथिका संरचना बनाए पनि तलका आधारभूत संरचना नबन्दा समस्या छ”, उनले भने “सामाजिक रुपान्तरणका लागि अब तलका संंरचना बलियो बनाउनु पर्दछ ।” मन्त्री ज्ञवालीले राणा शासन, पञ्चायत र राजतन्त्र फाले पनि जनताका समृद्धि ल्याउने खालका कार्यक्रम सरकारले ल्याएको जानकारी गराए ।

जनसांस्कृति महासङ्घ नेपालका अध्यक्ष सरल सहयात्री, नेपाली लेखक सङ्घका अध्यक्ष श्रवण मुकारुङ्गलगायतले सम्मेलनको शुभकामना दिँदै नेपालको प्रगतिशील आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने बताए । सम्मेलनमा देभरभरका विभिन्न ५६ जिल्ला शाखाबाट करीब ४५० प्रतिनिधि सहभागी रहेको छ । सम्मेलनमा प्रगतिशील साहित्यिक क्षेत्रका वर्तमान चुनौती र भावीदिशाका बारेमा समेत छलफल भएको प्रलेसका अध्यक्ष मातृका पोखरेलले जानकारी दिए ।

उनले प्रगतिशील आन्दोलनका क्षेत्रमा बहस चल्नु उचित भए पनि राष्ट्रियता, जनतन्त्र, जनजीविका र भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद–विरुद्धको मूल एजेण्डामा एकै ठाउँमा उभिएर जाने बताए । यसैगरी सम्मेलनमा शान्ता मानवी, शारदारमण नेपाल, प्रा डा श्रीधर गौतम र हरिहर खनाललाई परराष्ट्रमन्त्री ज्ञवालीले सम्मान गरे। प्रगतिशील साहित्यिक क्षेत्रमा उनीहरुले दिए योगदानको मूल्याङ्कन गर्दै सम्मानित गरिएको हो ।