गण्डकी प्रदेश

तनहुँको मार्कीचोक सवस्टेशन सञ्चालनमा, गोरखाको विद्युत् प्रणालीमा सुधार

काठमाडौँ । देशभर नै सवस्टेशन र प्रसारणलाइनको क्षमता सुधारमा लागिपरेको नेपाल विद्युत् प्राधिकरणले पछिल्लो पटक तनहुँको मार्कीचोकमा १३२/३३ केभी क्षमताको सवस्टेसन सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले सवस्टेसनको निर्माण सम्पन्न गरी बिहीबारदेखि सञ्चालनमा ल्याएको जनाएको छ । सवस्टेसन सञ्चालनमा आएसँगै मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२ केभी प्रसारणलाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । मध्यमस्र्याङदी–दमौली–मस्र्याङदी १३२ केभी डबल सर्किट प्रसारणलाइन यस अघि नै सञ्चालनमा आइसकेको छ ।

मार्कीचोक सवस्टेसन सञ्चालनमा आएसँगै गोरखालगायतका जिल्लामा रहेको भोल्टेजमा देखिएको समस्या र पटकपटक लाइनमा आउने समस्यासमेत समाधान हुने अपेक्षा प्राधिकरणले लिएको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

दमौली–डुम्रे–आँबुखैरेनी हुँदै ३३ केभी लाइनबाट गोरखामा विद्युत् आपूर्ति भइरहेको थियो, लामो दूरीबाट विद्युत् आपूर्ति हुँदा धेरै समस्या पर्दै आएको थियो ।

मार्कीचोक सवस्टेसनबाट आँबुखैरेनी हुँदै गोरखातर्फ विद्युत् प्रवाह हुने गरेको छ । त्यसबाट ३३ केभी लाइनको दूरी कम हुँदा प्रणालीको चुहावट घट्ने, भोल्टेजको समस्या समाधान हुने र विद्युत् आपूर्ति भरपर्दो हुने विश्वास लिइएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

‘मार्कीचोक सबस्टेसनबाट १३२ केभी लाइनमार्फत प्रवाह हुने विद्युत्लाई निर्माणाधीन मस्र्याङदी–मातातीर्थ २२० केभी प्रसारणलाइन हुँदै काठमाडौँमा जोडन सकिने छ ।

मध्यमस्र्याङदी–डुम्रे–दमौली–१३२केभी प्रसारणलाइन आयोजनाका प्रमुख शुभारम्भ विक्रम शाहका अनुसार, मध्यमस्र्याङदी र दमौलीबाट आउने १३२ केभी प्रसारणलाइनलाई मार्कीचोक सवस्टेसनमा ल्याई तल्लो मस्र्याङदीतर्फ पनि निकाल्न सकिने प्राधिकरणले जनाएको छ ।

आयोजनाले मार्कीचोकमा सवस्टेसन निर्माण गर्ने, मध्यमस्र्याङदी तथा दमौली सवस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुपसँग आर्थिक वर्ष २०६९÷७० मा ठेक्का सम्झौता भएको थियो ।

सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोग रहेको आयोजनाको अनुमानित लागत रु ६० करोड थियो । अनुमानित लागतभित्रै निर्माण सम्पन्न भएको आयोजना प्रमुख शाहले जानकारी दिए ।

प्राधिकरणले विद्युत्को पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनीय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सवस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा अगाडि बढाउँदै आएको छ ।

देशभर विद्युत्भार कटौतीको अन्त्य गरेपछि विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालू आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सवस्टेसनको निर्माण र स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ । चालू आवभित्रै ६०० सर्किट किलोमिटर प्रसारण र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने क्रममा छन् ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्तिका लागि उच्च क्षमताका प्रसारणलाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सवस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारणलाइन तथा सवस्टेसन बनाइरहेको छ ।