स्वास्थ्य

राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव

काठमाडौँ ।  सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ ।

गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधी पठाउञ्जेल सहजै पाइए पनि नगरपालिकामार्फत् वितरण गर्ने नीति बनेपछि ढिलाइ भइरहेको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ प्रकारका औषधि निःशुल्क पाइने नीति भए पनि गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा २० वटा पाउन पनि मुस्किल हुने गरेको स्वास्थ्य सहायक सुशील घिमिरेले बताए ।

प्राथमिक स्वास्थ्य केन्द्रमा ५५ं३ र स्वास्थ्यचौकीमा ३५ं३ औषधि निःशुल्क वितरण गर्ने सरकारको नीति छ । प्रसूति सेवा प्रदान गर्ने प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा थप तीन प्रकारको औषधि वितरण हुन्छ । प्रसूति सेवाको सुविधा नभएका केन्द्रमा ५५ र स्वास्थ्यचौकीमा ३५ औषधि निःशुल्क वितरण हुन्छ ।

केन्द्रमा भएका औषधि पनि चिकित्सकले मेडिकलबाट किन्न भन्ने गरेको बिरामीको गुनासो छ । केन्द्रमा उपचारका लागि आएका घनश्याम श्रेष्ठले स्वास्थ्य डा कुशल गौतमले भएको औषधि पनि किन्न भनेको बताए। केन्द्रमा भएकै औषधि खरिद गर्न भन्नुको तीन कारण हुनसक्ने सेवाग्राही श्रेष्ठले बताए। पहिलो आएको औषधि बाहिर बेच्छन् भन्ने गुनासोको पुष्टि, दोस्रो नगरपालिकाले औषधि पठाएन भनी सन्देश दिने र तेस्रो केन्द्रको नजिकमा सञ्चालन भइरहेका मेडिकलको व्यापार वृद्धि गर्नेमध्ये हुनसक्ने उनको भनाइ छ ।

कति औषधि केन्द्रमा आउँछन् । कहाँ÷कहाँ जान्छन् । यहाँ कति प्रकारका औषधि छन् भनेपछि श्रेष्ठले स्टोर शाखामा बुझ्न भन्ने गरेका बिरामीको भनाइ छ । नगरपालिकामा औषधि माग गरी फारम भरेर पठाएको महीनौँ बित्दा पनि नआएको स्थास्थ्य सहायक घिमिरेको दुःखेसो छ ।