उर्जा

होटल व्यवसायीलाई ग्यास प्रयोगबारे प्रशिक्षण

काठमाडौँ । मुलुकमा ग्यास पड्केर ठूलठूला घटना हुनथालेपछि नयाँ बसपार्कमा सञ्चालित होटल व्यवसायीलाई ग्यास प्रयोगबारे प्रशिक्षण दिइएको छ । समाज उत्थान महिलामञ्चको आयोजना तथा ग्यास बित्रेता महासङ्घको सहकार्यमा गोँगबु नयाँ बसपार्कमा रहेका होटल व्यवसायीलाई आज ग्यास प्रयोग विधिबारे प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा प्रदेश नं ३ का सांसद जीवन डङ्गोलले स्वदेशमा नै ग्यास उत्पादन गर्ने बाटोमा सरकार लाग्नुपर्ने बताए । “विदेशबाट आयात हुने ग्यासलाई विस्थापित गरी स्वदेशमा ग्यास उत्पादन गर्नसके सरकारले राखेको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई पूरा गर्न सजिलो हुन्छ,”–उनले भने ।

ग्यास बिक्रेता महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर थापाले नेपालमा मासिक २७ लाख सिलिण्डर प्रयोग हुने गरेको बताए । कतिपय व्यवसायी र कतिपय प्रयोगकर्ताको कारण ग्यास पड्कने गरेको उनको भनाइ छ । काठमाडौँ होटल व्यवसायी सङ्घका अध्यक्ष पदम योङहाङले होटल व्यवसायीलाई यस्ता जनचेतनामूलक प्रशिक्षणले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मञ्चका अध्यक्ष निर्मला श्रेष्ठले प्रयोगकर्ताको सानो गल्तीका कारण ठूलो क्षति हुने भएकाले समाज उत्थान महिला मञ्चले ग्यास प्रयोगबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।

मुलुकमा बढ्दो ग्यास दुर्घटनालाई न्यूनीकरण गर्न महासङ्घसँग सहकार्य गरेर उक्त कार्यक्रम गरिएको मञ्चका उपाध्यक्ष तारा नेपालले बताउनुभयो । हाल नेपालमाप्रति महीना ३८ हजार मेट्रिक टन ग्यास प्रयोग हुँदैआएको छ । जसमा ५८ कम्पनीबाट उत्पादित ग्यास प्रयोग हुन्छन् भने १२ हजार ग्यास व्यवसायीले काम गरिरहेका छन् ।