बाग्मती

वन्यजन्तु सप्ताहको तयारी पूरा

रसुवा । आगामी वैशाख १ गतेदेखि साताव्यापी रुपमा मनाइने वन्यजन्तु सप्ताह तथा रातोहाब्रे संरक्षण जागरण अभियानको आवश्यक तयारी पूरा भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्ज तथा गोसाइँकुण्ड गाउँपालिकाले संयुक्त रुपमा वन्यजन्तुको संरक्षणमा जागरण बढाउन साताव्यापी मिनि रसुवा महोत्सवकै रुपमा वन्यजन्तु सप्ताह मनाउन लागेका हुन् ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्य मानिएको लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा वन्यजन्तु सप्ताहको साथ साथै पर्यटन प्रर्वद्धनका लागि सन् २०१९ लाई गाउँपालिका पर्यटन भ्रमण वर्षका रुपमा समेत मनाउने तयारी भएको गाउँपालिकाका अध्यक्ष कैसाङ नर्पु तामाङले जानकारी दिए । छयालीस भन्दा बढी स्तनधारी जनावर तथा विश्वमा दुर्लभ मानिने रातोहाबे्र (रेडपाण्डा) भएको निकुञ्ज क्षेत्रको जैविक विविधता संरक्षणमा सहयोग पु¥याउन सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको र कार्यक्रमले संरक्षणमा थप प्रभावकारीता आउने अपेक्षा गरिएको निकुञ्जले जनाएको छ ।

वन्यजन्तु सप्ताहको मुख्य उद्देश्य वातावरण र वन्यजन्तु संरक्षण तथा गन्तव्यको जागरण, सुरक्षित पर्यटकिय गन्तव्यको विकास र सहभागिता मुलक कार्यक्रम निमार्ण र कार्यान्वयन प्रमुख उद्देश्य रहेको बताइएको छ । प्रकाशित कार्यक्रमअनुसार संरक्षणको प्रचारप्रसार, प्रभातफेरी, चरा अवलोकन, रातोहाब्रे ट्रफी भलिबल तथा ब्याटमिन्टन, वतृत्वकला, पर्यटकीयस्थलको अवलोकन, स्थानीय कला संस्कृति झल्काउने विविध सांस्कृतिकलगायत विविध कार्यक्रम सञ्चालन गरिने छ ।

यसैगरी उक्त कार्यक्रम अन्तर्गत हेलिकोप्टरबाटसमेत गोसाइँकुण्ड तथा लाङटाङ क्षेत्रको अवलोकन गर्न सकिने गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए। कार्यक्रमका आयोजक गाउँपालिका र निकुञ्जलाई संरक्षणमा संलग्न दर्जनौँ सहयोगी सङ्ख्याले सघाउने बताइएको छ ।