कर्णाली प्रदेश

डोल्पाका बालबालिका पाठ्यपुस्तकबाट वञ्चित

डोल्पा । नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना बितिसक्दा पनि डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाउँपालिकाका–९ का विद्यालयका करीब एक हजार १०० बालबालिका शैक्षिक सत्र शुरु भएको दुई महीना वितिसक्दा पनि पाठ्यपुस्तकबिना नै अध्ययन गर्न बाध्य भएका हुन् ।

महादेव आधारभूत विद्यालय व्यवस्थापन समितिका अनुसार स्थानीय सरकारले समयमा पाठ्यपुस्तक खरीद गरेर ढुवानी नगर्दा बालबालिका नयाँ पाठ्यपुस्तक पाउनबाट वञ्चित भएका हुन् । अहिले पुराना किताब पठनपाठन गराउनु परेको विद्यालयका प्रधानाध्यापक हीराबहादुर थापाले जानकारी दिए ।

पाठ्यपुस्तक ढुवानीको जिम्मा पाएका श्रवणकुमार रोकायाले किताब खरीद भइसकेको र हिमपातले जुम्लाबाट डोल्पा आउने बाटो अवरुद्ध भएकाले पाठ्यपुस्तक ढुवानीमा ढिलाइ भएको बताए। जुम्लाबाट आउने बाटो पूरै हिँउले ढाकेकाले अव केही दिनभित्रै किताब प्रत्येक विद्यालयमा पुग्ने रोकायाले जानकारी दिए ।

स्थानीय सरकारले गाउँपालिकामा कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी भाषाबाट अध्ययन गराउनुपर्ने नीति बनाए पनि नयाँ पाठ्यपुस्तक दुई महीनासम्म नपुगेको प्रधानाध्यापक थापाले बताए । यसवर्षको हिमपातले जुम्लाको बाटो रोकिएपछि समयमा पाठ्यपुस्तक नपुगेका गाउँपालिकाको शिक्षा एकाइ हेर्ने नायब सुब्बा केशव जैशीले जानकारी दिए।

दैनिक बालबालिका पुराना तर एक विषयको किताब मात्रै बोकेर विद्यालय जाँदा पनि कसैको ध्यानजान नसकेको भन्दै अभिभावक नन्दबहादुर लामाले गुनासो गरे । स्थानीय एजेन्टले पाठ्यपुस्तक खरीद गरी ढुवानीमा ढिलाइ गरेपछि तत्काल विद्यालयमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिइएको गाउँपालिका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिए।